विराटनगर । अबिरल वर्षापछि मोरङका विभिन्न स्थानमा खोलाको पानी बस्तीमा पसेको छ । केसलिया, सिंघिया, बक्राहा, लोहान्द्रा र रतुवा खोलाको बहाव बढेसँगै जिल्लाभरका बस्तीहरू जोखिममा परेका छन् ।
शनिबार बिहानदेखि निरन्तर वर्षा भइरहेकाले बिराटनगर महानगर, उर्लाबारी, सुनबर्षी, धनपालथान र मिक्लाजुङ गाउँपालिकाका बस्तीहरूमा पानी पसेको हो ।
स्थानीय प्रशासनका अनुसार अहिलेसम्म कुनै जनहानी नभए पनि करिब ७५० भन्दा बढी घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
बिराटनगर–१२ केशलिया खोलाको बाँध नाघी सम्पन्न बस्तीमा पानी पसेको खबर प्राप्त भएको थियो । तत्काल प्रहरी चौकी बखरीबाट टोली खटेर स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी ३५० जना मानिसलाई बखरी आमा विद्यालय, दरैया आमा विद्यालय र नवनिर्माणाधीन फ्याक्ट्री भवनमा सुरक्षित राखिएको छ ।
बिराटनगर–२ पूर्वटोलमा सिंघिया खोलाको पानी पस्दा करिब ३५ घर प्रभावित भए । प्रहरी टोलीले स्थानीयको सहयोगमा सबैलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ ।
त्यस्तै, बिराटनगर–५ केशलिया ढाटस्थित शंकरबारी टोलमा पनि केशलिया खोलाको पानी पस्दा २५ घर प्रभावित भएका छन् । प्रहरी टोलीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर बासस्थान सुरक्षित गरिरहेको जनाएको छ ।
सुनबर्षी नगरपालिका–६ कैनीमा बक्राहा खोलाको बाँध नाघेपछि प्रहरी टोलीले माटो थपेर बाँध मजबुत बनाउने प्रयास गरिरहेको छ । सोही खोलाको पानीले सुनबर्षी–३ बाहुनटोलमा करिब ६० घरमा पानी पस्दा जनप्रतिनिधि र प्रहरी मिलेर राहत र स्थानान्तरण कार्य अघि बढाइरहेका छन् ।
यसैगरी, धनपालथान गाउँपालिका–६ मा लोहान्द्रा खोलाले बाँध नाघ्दा करिब १५० घरमा पानी पसेको छ । प्रहरी चौकी कर्सियाबाट टोली खटिएर स्थानीयहरूलाई सुरक्षित स्थानमा राख्ने प्रयास भइरहेको छ ।
उर्लाबारी नगरपालिका–९ बोर्डरलाइनमा रतुवा खोलाको बाँध फुट्दा करिब २० घर वरपर पानी पसेको छ । हालसम्म घरभित्र पानी प्रवेश नगरे पनि जोखिममा रहेका ५ घरका २० जना व्यक्तिलाई छिमेकीको घरमा सारिएको प्रहरीले जनाएको छ ।
यस्तै, मिक्लाजुङ गाउँपालिका–६ मलामीटहरा स्थित नुनसरी खोलाको बाँध कटान हुन थालेको छ । प्रहरी र स्थानीय निकायले संयुक्त रूपमा बाँध मर्मत र रोकथामका काम तीव्र पारिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुरक्षा निकाय, स्थानीय तह र जनप्रतिनिधिहरू पूर्ण सतर्क अवस्थामा छन् र खोलाको बहाव अझ बढेमा थप स्थानान्तरणको तयारी गरिएको छ ।
बाढीग्रस्त बस्तीमा पूर्वमुख्यमन्त्री
अबिरल वर्षापछि मोरङका विभिन्न बस्तीहरूमा खोलाको पानी पसेर डुबान भइरहेका बेला कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन् ।
पूर्वमुख्यमन्त्री कार्कीले बिराटनगर–१२ केशलिया खोलाको बाँध नाघी पानी पसेका बस्तीहरूमा पुगेर अवस्थाको प्रत्यक्ष अवलोकन र उद्धार कार्यको समन्वय गरेका हुन् । प्रभावित स्थानीयसँग भेटघाट गर्दै उनले तत्काल राहत र स्थायी समाधानका उपायबारे सुझाव दिएका छन् ।
कार्कीले भने, ‘मैले नेतृत्व गर्दा केशलिया कोरिडोरको परिकल्पना गरेको थिएँ । यसले केवल बाढी नियन्त्रणमा मात्र होइन, नागरिकको दिगो जीवनयापनमा पनि सहयोग पु¥याउँछ ।’
उनका अनुसार केशलिया कोरिडोर परियोजना दीर्घकालीन रूपमा लागू गर्न सके डुबान, जलनिकास र पूर्वी मोरङका आवासीय क्षेत्रको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने छ ।
कार्कीले प्रदेश सरकार र स्थानीय निकायलाई तत्काल राहत र पुनःस्थापनाको कार्य प्रभावकारी बनाउन आग्रह गर्दै प्रभावित नागरिकलाई नआत्तिन र सतर्क रहन अपिल गरेका छन् ।
प्रतिक्रिया