काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ गतेदेखि देशभर जारी अविरल वर्षाका कारण हालसम्म १९ जनाको मृत्यु भएको जनाएको छ । प्राधिकरणले आइतबार १२ बजेसम्मको अवस्थाबारे जानकारी गराएको हो ।
प्राधिकरणका अनुसार वर्षासँगै आएको प्राकृतिक विपत्तिका कारण ८ जना बेपत्ता र ११ जना घाइते भएका छन् ।
मृत्यु भएकामध्ये सबैभन्दा बढी इलाममा १४ जनाले ज्यान गुमाएका छन् । इलामका ती सबैको मृत्यु पहिरोका कारण भएको पुष्टि गरिएको छ ।
त्यस्तै, खोटाङ र उदयपुरमा खोलाले बगाउँदा एक–एक जनाको मृत्यु भएको छ भने रौतहटमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ । बेपत्तामध्ये इलाम र रसुवामा चार–चार जना रहेका छन् । इलाममा पहिरोले बेपत्ता बनाएका चार जनाको खोजी भइरहेको छ भने रसुवामा खोलाले बगाएर बेपत्ता बनाएको चार जनाको उद्धार प्रयास जारी छ ।
वर्षासँगैको विपत्तिमा ११ जना घाइते भएका छन् । इलाममा पहिरोका कारण ४ जना, भोजपुर र खोटाङमा चट्याङ लागेर ३–३ जना, तथा मकवानपुरमा एक जना घाइते भएका छन् । सरकारले सम्बन्धित स्थानीय निकाय, सुरक्षा निकाय र उद्धारकर्मीहरूलाई उद्धार तथा राहत कार्यमा परिचालन गरेको जनाएको छ । गृह मन्त्रालयले विपद् प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ ।
प्रतिक्रिया