Logo

Breaking News 1

निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित



वीरगन्ज । हिजो (शुक्रबार) रातिदेखि निरन्तर परिरहेको अविरल वर्षाका कारण वीरगन्ज सहर पोखरीमा परिणत भएको छ। प्रमुख सहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म बाढी र डुबानको असर देखिएको छ ।

वीरगन्जको गोशवारा रोड, माईस्थान, आदर्शनगर लगायतका स्थानहरूमा नालाबाट पानीको निकास नहुँदा सडकहरूमा घुँडासम्म पानी जमेको छ । स्थानीयवासीका अनुसार घर, पसल र होटलहरूमा समेत पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरीबहादुर बस्नेतका अनुसार, वीरगन्ज बसपार्कस्थित प्रहरी चौकी, माईतीनेपालको बिट कार्यालय र शिर्सियास्थित मानव सेवा आश्रममा पानी प्रवेश गरेपछि त्यहाँ रहेका सबैलाई सुरक्षित स्थानमा सारिएको छ।
उनका अनुसार हालसम्म कुनै मानविय वा अन्य भौतिक क्षतिको रिपोर्ट प्राप्त नभएको बताइएको छ ।

त्यसैगरी, ग्रामीण भेगका धेरै गाउँहरू जलमग्न बनेका छन्। बाढीका कारण सडक यातायात अवरुद्ध भएको र सहरका अधिकांश पसल बन्द रहँदा बजार सुनसान देखिएको छ। दैनिक क्रियाकलापहरू प्रभावित भएका छन् भने स्थानीयहरू घरमै थुनिन बाध्य भएका छन् ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको पछिल्लो सूचना अनुसार अगामी तीन दिनसम्म पनि वर्षा जारी रहने सम्भावना रहेको छ । यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्साले तीन दिनसम्म सतर्क रहन वीरगन्ज र आसपासका नागरिकहरूलाई अनुरोध गरेको छ। प्रशासनले नदी, खोल्सा र डुबान हुने क्षेत्र नजिक नजान र आवश्यक परेमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ ।

लगातारको वर्षालाई ध्यानमा राख्दै वीरगन्ज महानगरपालिकाले आपतकालीन सहयोगका लागि हेल्पलाइन नम्बरहरू सार्वजनिक गरेको छ । महानगरले उद्धारका लागि टोली तयार राखिएको र जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १२ : ०३ बजे