Logo

Breaking News 1

जेनजी आन्दोलनका घाइते दौलत अझै अचेत, सरकारले सहयोग नगरेको गुनासो


१७ आश्विन २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका सिन्धुपाल्चोकका ३२ वर्षीय दौलत थापा अझै वेहोस छन् । भक्तपुरको मध्यपुर अस्पतालमा उपचार असंम्भव भएपछि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी रहेपनि उनी अझै अचेत अवस्थामा छन् । तर सरकारले आन्दोलनबाट घाइते भएको होइन भन्दै उपचारमा सहयोग गर्न असमर्थ रहेको परिवारले जानकारी दिएको छ ।

घाइते थापाकी श्रीमती यमकला ठकुरी भन्छिन्, ‘२४ गतेको आन्दोलनमा उहाँको टाउकोमा गम्भीर चोट लागेको छ । दोब्बर अपरेशसन भइसकेपनि होस खुलेको छैन् । एक महिना हुन लागिसक्यो बेहोस नै हुनुहुन्छ । सरकारले उहाँलाई आन्दोलनकारी नभएको भनिरहेको छ तर उहाँसँग रहेको भिडियो र फोटोहरुले आन्दोलनमा प्रत्यक्ष सहभागि भएको देखिन्छ ।’

भक्तपुरको ठिमी बस्दै आएका दौलतका बुबा र श्रीमती सहयोगको याचना गर्दै भौतारिरहेका छन् । ‘हामीलाई थाहा छ, आन्दोलनका लागि भनेर उहाँ बानेश्वर आउनु भएको थियो । कतिखेर र कसरी घाइते हुनुभयो केही पत्तो पाइएन । एक्कैचोटी अस्पताल पुर्याउँदा मात्र थाहा पायौं । एकसातादेखि ट्रमा सेन्टरमै उपचार गराइरहेका छौं । सरकार उपचार गराउनुपर्छ भनेर अनेक वहान बनाइरहेको छ । आफ्नै खर्चले उपचार गर्न सकिरहेका छैनौं । ऋण खोजेर उपचार गराइरहेका छौं । हाम्रो विजोग भयो,’यमकलाले भनिन् ।

दौलतका बाबु गोरख बहादुर थापा आफनो छोरो आन्दोलनमा गएर घाइते भएको फोटो देखेपछि मात्र थाहा पाएको सुनाउँछन् ।
भन्छन्, ‘छोरो पनि आन्दोलनमा गएको रहेछ मैले फोटो देखेपछि मात्रै थाहा पाएँ । अस्पताल लगेको छ भनेर राति साँढे ११ बजे मात्र थाहा पाएको हुँ । छोराको उपचारका लागि अस्पतालले एक लाख रुपैयाँ जम्मा गर्नुपर्छ भनेको छ । अपरेशनपछि सात दिन जति भेन्टिलेटरमा राखियो । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न कठिन भइरहेको छ । पहिले भन्दा केही सुधार हुँदैछ भनेर डाक्टरहरुले भन्नु भएको छ । तर खर्च धान्न मुस्किल परिरहेको छ ।’

दौलतले आन्दोलनमा सहभागि भएको फोटो र भिडियोहरु सामाजिक संजालमा पनि पोष्ट गरेका थिए । साथै फेसबुकमार्फत लाइभ समेत गरेको भनेर परिवारका सदस्यहरुले जानकारी दिएका छन् । तर सरकारले उनको उपचार गर्न र कार्ड प्रदान गर्न आनाकानी गरिरहेको परिवारले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  १२ : ३२ बजे