Logo

Breaking News 1

गोलबजारबाट अवैध मल धमाधम बरामद



सिरहा । सिरहाको गोलबजारमा फेरि अवैध अनुदानित मल बरामद भएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार गोलबजार नगरपालिका–६ ढोहटिया स्थित जितन सहनीको घरमा छापा मार्दा ४० बोरा अनुदानित युरिया र डिएपी मल बरामद गरेको हो ।

अनुगमन टोलीका अनुसार सहनीको घरमा सरकारी अनुदानमा वितरण हुने मल लुकाइराखिएको अवस्थामा भेटिएको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको आदेशमा खटिएको टोलीका सदस्य इलाका प्रशासन कार्यालय लहानका प्रशासन अधिकृत सन्तोष रायले मल बरामद गरिएको जानकारी दिएका छन् ।

यसअघि असोज ८ गते मात्रै प्रशासनले गोलबजारकै न्यु कुशवाहा बिज भण्डारबाट १५४ बोरा अनुदानित मल बरामद गरेको थियो। कृषि सामग्री कम्पनी लिमिटेडमार्फत सहकारी संस्थाबाट किसानलाई वितरण हुने मल व्यापारीहरूले कालोबजारीमार्फत खरिद गरी दोब्बर मूल्यमा बेच्दै आएको किसानहरूको गुनासोका आधारमा छापा मारिएको टोलीले जनाएको छ।

बरामद गरिएको करिब ३० बोरा डिएपी र १० बोरा युरिया मल तत्काल नियन्त्रणमा लिइएको छ। सहनीको घरमा मल भेटिए पनि त्यसको स्वामित्व कसको भन्ने स्पष्ट हुन बाँकी रहेको प्रशासनले जनाएको छ।

छापामारीको क्रममा घरमा कोही नभएकाले प्रशासनले घरमा ताल्चा लगाएर सात दिनभित्र सम्पर्कमा आउन घरधनीलाई आग्रह गरेको छ।प्रत्यक बोरामा रातो मार्करले जिल्ला प्रशासन कार्यालय सिरहा लेखेर कर्मचारीहरु कार्यालय फर्केका हुन् ।

अनुगमन टोलिमा नेपाल प्रहरी,सशस्त्र प्रहरि र गोलबजार नगरपालिका वडा न–६ का अध्यक्ष संजित लामाको सहभागिता रहेको थियो ।स्थानियका अनुसार मल मुकेश बिज भणडारले राखिएको बुझिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ८ : ५० बजे