इटहरी । दशैं नजिकिँदै गर्दा देशभर रमझम र उत्साह छाउँछ । घर–आँगन रंगिन बन्छन्, मन्दिरहरूमा दुर्गा भक्ति गुञ्जिन्छ, परिवारको जमघट र नयाँ कपडामा सजिएका बालबच्चाहरु देखिन्छन् । तर, सुनसरीको इटहरीमा एउटा घर छ, जहाँ दशैंको रौनक भिन्न छ । तर गहिरो अर्थ राख्छ । त्यो घर हो ।
उक्त घरमा बाबुआमाले छाडेका, बाटोमा भेटिएका, पुलमुनी फ्यालिएका वा जन्मिनासाथै अस्वीकार गरिएका बालबालिकाहरू बस्छन् । उनीहरूलाई जन्मदिने आमाबाबु नजिक छैनन्, तर एउटी आमा छिन् जसले आफ्नो जीवन नै उनीहरूको लागि समर्पण गरेकी छिन् । उनी हुन् गीता गौतम, जसलाई सबैले ‘गीता आमा’ भन्छन् ।
आमा बनेकी अविवाहित महिला
गीता आमा विवाहित होइनन् । उनले आफ्नै परिवार बसाइनन् । तर विगत चार दशकदेखि उनले सयौँ बालबालिकालाई अँगालोमा च्यापेर आमा बनेकी छन् । चाडपर्वको प्रसंग सुरु हुनसाथ उनको बोली नै भावुक हुन्छ । ‘म अहिले पनि सुत्केरी नै हुँ । नानीहरूलाई दूध खुवाउँछु, रातभरि सुताउँछु । उनीहरूको काख च्यातिएको छ, तर मसँग भने माया बाँड्ने छाती छ,’ उनले सुनाइन् ।
उनको मायाले नै अनगिन्ती बालबालिकाको जीवन बदलिएको छ । कोही नर्स बने, कोही व्युटिसियन, कोही विदेश गएर परिवार बसाए । कसैले विवाह गरेर नयाँ संसार बनाए । यी सबैको एउटै आमा छिन् ‘गीता आमा’ ।
पीडाले जन्माएको सेवा
गीता आमा आफैं पनि अनाथ नै हुर्किएकी हुन् । बाबु भारतमा जागिरे हुँदा दुर्घटनामा परेर बिते । आमा डाकाको हातबाट मारिइन् । त्यसपछि जीवन अन्धकारमा डुब्यो । भारतको आश्रममा केही समय सेवा गरेपछि उनलाई लाग्यो, नेपालमै यस्ता नानीहरूका लागि केही गर्नुपर्छ ।
त्यसैले २०३८ साल वैशाख २९ गते इटहरीमा तीन नानीबाबु लिएर ‘निःसहाय बालबालिका सेवा आश्रम’ सुरु गरिन् । सुरुमा झुपडीजस्तो थियो, साधन थिएनन्, तर माया थियो । यही माया क्रमशः सयौँ बालबालिकाको भविष्य बन्न पुग्यो । अहिले पनि आश्रममा ६० भन्दा बढी बालबालिका छन् ।
दशैंको तयारी, आमा र नानीहरूको खुशी
दशैं आउँदा गीता आमाको व्यस्तता झन् बढ्छ । उनी भन्छिन्,‘चाडबाड रमाइलो त यिनै बालबालिकालाई हुने हो । हामीलाई भन्दा पनि उनीहरूको अनुहारमा हाँसो देख्दा मात्रै दशैं हुन्छ ।’ आश्रममा मासिक खर्च डेढ लाखभन्दा बढी हुन्छ । कतिपय मानिसहरू जन्मदिनमा सहयोग ल्याउँछन्, कोही पितृश्राद्धमा अन्नदान गर्छन् । कोही विद्यालयहरूले निःशुल्क पढाउँछन् । यसरी टुक्रा–टुक्रा सहयोगले नै आश्रम चल्छ ।
जेनजी आन्दोलन र गीता आमाको पीडा
यसपटक दशैंको रौनक गीता आमाको मनमा पुरै छैन । हालैको जेनजी आन्दोलनका क्रममा गोलीले ढलेका नानीहरूको तस्बिर देख्दा उनी अत्यन्त पीडित भइन् । भावुक हुँदै उनी भन्छिन्,‘अनाथको भविष्य बनाउन म जीवनभर खटिरहेँ । तर राज्यले आफ्ना नानीहरूलाई नै गोली हानेर मार्छ भने त्यो सबैभन्दा ठूलो पीडा हो । देश नै बिरामी बनेको छ । त्यसैले यसपालि दशैं पनि खल्लो लाग्छ ।’
उदाहरणीय आमा, सम्मानको खात
उनको योगदानलाई कदर गर्दै देश विदेशमा उनीलाई सम्मान गर्ने हातहरु बढीरहेका छन् । उनी भन्छिन्,‘मैले सम्मान पनि खोजेको होइन् काम भनेको निरन्तर रुपमा गर्दै जाने हो । कामकै परिणाम सम्मान हो जस्तो लाग्छ ।’
स्वार्थको रकम उनी एक रुपैंयाँ पनि नलिने उनी बताउँछिन् । गीता आमाका लागि सबैभन्दा ठूलो पुरस्कार भनेकै उनका नानीहरूको हाँसो हो ।
हामी सबैका घरमा दशैं आउँछ । तर, दशैंको वास्तविक सार गीता आमाको जीवनले सिकाउँछ । दशैं केवल आफ्नै परिवारभित्र सीमित होइन, अरूलाई पनि खुशी बाँड्ने चाड हो । दशैं नयाँ लुगा लगाउने मात्र होइन, लुगा विहीनलाई नयाँ लुगा दिने चाड हो । दशैं परिकार खाने मात्र होइन, भोकालाई परिकार बाँड्ने चाड हो ।
उनले आफ्नै जीवनलाई मैनबत्तीझैं जलाएर सयौँ अनाथ नानीहरूको जीवनमा उज्यालो भरिदिएकी छन् । यस बडादशैंमा गीता आमाजस्ता असली मानवीय पात्रहरूलाई सम्झौं । उनीहरूको दीर्घायुको कामना गर्दै, हामी पनि आफ्ना घरको दशैं अरूको जीवनमा उज्यालो ल्याउने प्रेरणा लिऊँ ।
प्रतिक्रिया