Logo

राजनीति

जेनजी प्रदर्शन घाइतेको वर्गीकरण गर्न प्राविधिक समिति गठन



काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणका लागि प्राविधिक समिति गठन गर्ने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वर्गीकरणको आधारमा घाइतेलाई उचित राहतको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान, उपचार र पुनःउपचार (फलो अप)का लागि गृह मन्त्रालयमार्फत परिचयपत्र उपलब्ध गराउने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकिएका अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने, निःशुल्क आवतजावतको सुविधा र हटलाइनसहित सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ।

यसैगरी, मन्त्रिपरिषद्ले चितवनको मुग्लिनदेखि तनहुँको आँबुखैरेनीसम्म मुग्लिन बजार पारी गोरखातर्फदेखि मस्र्याङ्दी विद्युत्गृह विपरितसम्म समानान्तर सडकको रेखाङ्कन र केन्द्र रेखाबाट दायाँबायाँ १५/१५ मिटर गरी ३० मिटर सडक मापदण्ड स्वीकृत गरेको छ।

बैठकले आगामी कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को आठौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : ०० बजे