काठमाडौं – अन्तरिम सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई भारतको नयाँ दिल्लीमा २०८२ कार्तिक १०–१३ गते आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को आठौँ बैठकमा भाग लिन स्वीकृति दिएको छ। निर्णय आइतबार (असोज १२) बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो।
सरकारले भदौ २३–२४ गतेका प्रदर्शनमा घाइते भएका व्यक्तिहरूको पहिचान र उपचार सुनिश्चित गर्न गृह मन्त्रालयमार्फत परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएका अस्पतालमा जेनजी क्लिनिक सञ्चालन गर्ने र निःशुल्क आवतजावतको व्यवस्था गर्ने निर्णय गरेको छ। साथै, उपचारका लागि हटलाइन र सम्पर्क व्यक्तिको नम्बर सार्वजनिक गरिनेछ।
घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरिएको छ। वर्गीकरणको आधारमा उचित राहत वितरण गरिनेछ।
मन्त्रिपरिषद्ले मुग्लिङ–पोखरा सडकमा थप सडक रेखांकन स्वीकृत गर्दै, केन्द्र रेखाबाट दायाँ–बायाँ १५–१५ मिटर गरी ३० मिटरको सडक मापदण्ड तय गरेको छ।
त्यसैगरी, प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिनाको नियुक्ति भएको छ।
प्रतिक्रिया