Logo

राजनीति

नेपाली कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता डा.महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी पुनःजागरुक भई अगाडि बढ्ने स्पष्ट संकेत दिएका छन् ।

आइतबार महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्ति कहिल्यै सफल नहुने दाबी गरे ।

‘हामी देश र जनतालाई माथि राखेर फेरि उठ्न सक्छौं । कांग्रेस फेरि माथि उठ्छ,’ उनले भने, ‘लोकतन्त्रलाई कमजोर पार्न खोज्ने र देशलाई अस्थिर बनाउन चाहने शक्ति सफल हुने छैनन् । हामी एकीकृत भएर लोकतन्त्रको रक्षा र देशको मजबुतीका लागि अगाडि सर्छौं ।’

उनले पछिल्लो समय राजनीतिक दलहरु विरुद्ध षड्यन्त्रपूर्वक आत्मविश्वास घटाउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेस त्यो षडयन्त्रको शिकार बन्न नदिने बताए । ‘हाम्रो आत्मविश्वासलाई थाङथिलो पार्ने योजना अन्तर्गत सबै षड्यन्त्र गरिएको हो,’महतले भने, ‘तर कांग्रेस पार्टी सधैं लोकतन्त्र, जनता र राष्ट्रको पक्षमा दृढताका साथ उभिएको छ ।’

पार्टी कार्यालय र नेताहरुका घरमा भएको तोडफोड र आगजनीप्रति टिप्पणी गर्दै महतले त्यस्ता घटना कांग्रेसको आत्मबल तोड्न नसक्ने जिकिर गरे । ‘हामी पुनः जागरुक भएर उठ्नेछौं,’ उनले दृढताका साथ भने ।

उनले नेपाली कांग्रेसभित्र रहेका कमजोरी र त्रुटिहरूको समीक्षा गर्दै नयाँ सोचसहित अगाडि बढ्ने प्रतिबद्धता जनाए । ‘हामीमा भएका कतिपय कमजोरी र त्रुटिहरूको समीक्षा हुनेछ,’ महतले भने, ‘अब हामी नेपाललाई विकास, निर्माण र रोजगारीको दिशामा लैजानेबारे गम्भीर चिन्तन गर्छौं ।’

डा. महतले राजनीतिक दलहरू बलिदान र त्यागबाट बनेका हुनाले तिनलाई कमजोर पार्ने कुनै षड्यन्त्र सफल नहुने विश्वास व्यक्त गरे । साथै, पार्टीपंक्तिलाई आत्मविश्वासका साथ एकीकृत हुन पनि उनले आग्रह गरे।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीले अनेकौं आदिबेहोरीमा लोकतन्त्रको पक्षमा, जनताको पक्षमा र देशको पक्षमा सधैं उभिएको छ । आत्मविश्वासका साथ उभिएको छ । त्यो आत्मविश्वास जोगाउन सम्पूर्ण पार्टीपङ्क्ति एकीकृत हुन अनुरोध गर्दछु ।’

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ११ : ५८ बजे