वाल्यकाल र अहिलेको दशैंमा धेरै फरक लाग्छ । दशैं भन्ने वित्तिकै पैसा(दक्षिणा)कति आउला भनेर आश लाग्ने, कसले कति देलान भन्ने अपेक्षा हुन्थ्यो । नयाँ लुगाको खुब सौख हुन्थ्यो । अहिले चाहीं त्यस्तो खासै नहुँदो रहेछ ।
वेनिशा पौडेल
गायिका
काठमाडौं । नेपालीको महान् चाड दशैँको चहलपहल सुरु भइसकेको छ । दशैँमा किनमेल गर्नेदेखि घर जानेहरूको क्रम बढिरहेको छ । घर जानका लागि टिकटको व्यवस्था मिलाउन पनि सबै जना लागिपरेको देखिन्छ । एक वर्षमा आउने चाड दशैँ सबैको लागि महत्वपूर्ण हुन्छ त्यो बेला सबै परिवार एकै ठाँउ बसेर रमाइलो गर्ने अवसर पनि जुट्छ ।
यसैगरि कलाकार र संगीतकारहरु पनि कोही दशैँमा घर जाने योजनामा छन् भने कोही काठमाडौं नै बसेर दशैँ मनाउने सोचमा छन् । यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा गायिका बेनिशा पौडेलले भने गाउँतिर गएर साधारण तरिकाले परिवारसँग बसेर दशैँ मनाउने योजना रहेको सुनाइन् ।
उनले भनिन्, ‘दशैँ अरू बेलाको जस्तै परिवारसँग बसेर नै मनाउने हो । दशैँ भनेको नेपालीहरूको महान चाड हो । परिवारसँग बसेर र रमाइलो गरेर, सिम्पल तरिकाले नै मनाउने सोच छ । गाउँतिर गइन्छ होला । चाडपर्वको समयमा गाउँघर नै रमाइलो नै हुन्छ । गीत गाउँदै सबैजना सँगै भएर रमाइलो गर्छौ । अविस्मरणीय भनेर छैन, तर जे होस्, रमाइलो हुन्छ ।’
साथै, उनका अनुसार पहिला सानोमा मनाउने दशैँ र अहिलेको दशैँमा धेरै नै फरक रहेको सुनाउछिन् । सानो हुँदा दशैँ भनेपछि नयाँ लुगा, मिठा खानेकुरा र पैसा(दक्षिणा) कति आउँछ होला भन्ने कौतुहलता हुन्थ्यो अहिले ठूलो भइसकेपछि दशैँको परिभाषा नै छुट्टै भएको हो कि जस्तो लाग्ने गरेको बताउँछिन् ।
‘वाल्यकालको दशैं र अहिले धेरै फरक लाग्छ । दशैं भन्ने वित्तिकै पैसा(दक्षिणा)कति आउला भनेर आश लाग्ने, कसले कति देला भएर अपेक्षा गर्ने गर्दथ्यौं । नयाँ लुगाको खुब शौख हुन्थ्यो । अहिले चाहीं त्यस्तो खासै नहुँदो रहेछ । एज जति जति बढ्दै गयो, त्यति त्यति खास नलाग्दो रहेछ ।’
२०१८ मा ‘आँखैमा लाउने गाजल सकियो’ भन्ने बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी पौडेललाई सानैदेखि नै गीत संगीतमा रुचि थियो । उनले स्कूल पढ्दा गीत गाउने गरेकाले पछि परिवारले संगीत कक्षामा भर्ना गरिदिएको सुनाउँछिन् । पहिलो गीतले राम्रो चर्चा पाएपछि अन्य गीत रेकर्ड गर्ने सिलसिलामा उनी नेपाल आइडलको मन्चमा पनि उक्लिएकी थिइन् ।
उनले सिङ्गर भइसकेपछि सबै खालको गीत गाउन सक्नुपर्ने भन्दै आफूलाई सबै प्रकारको गीत सुन्न र गाउन मनपर्ने बताइन् ।
उनले भनिन्, ‘मलाई के लाग्छ भने, एज अ सिङ्गर भइसकेपछि सबै खालको गीत गाउन सक्नुपर्छ । भर्सटाइल पनि बन्नुपर्छ जस्तो लाग्छ । एउटै जोनमा बस्नु भन्दा पनि आफ्नो कम्फर्ट जोनबाट निस्केर सबै खालका गीत गाउने कोशिस गर्नुपर्छ जस्तो लाग्छ । किनकी सबै खालको गीतहरू सुनिराखेको पनि हुन्छु । सबै राम्रो लाग्छ ।’
उनले हरेक कुराको नकारात्मक र सकारात्मक दुवै पक्ष हुने भन्दै म्युजिकमा आइसकेपछि गाएर भविष्य सुरक्षित गर्नुपर्ने बताउँछिन् । मेहेनत गर्न सक्यो भने धेरै प्रकारका अवसरहरु प्राप्त गर्न सकिनेमा उनी आशावादी छिन् ।
उनले भनिन्, ‘म्युजिकमा प्रवेश गरिसकेपछि गीत गाएर मात्र जिउन नसकिएला तर यसभित्र अनेक क्षेत्रहरुमा लागेर जीवन चलाउन सकिन्छ । गिटार सिकेर सिकाउन सकिन्छ । संगीत टिचर बन्न पनि सकिन्छ । एरेन्ज सिकेर अरुलाई सिकाउन सकिन्छ ।’
‘यस्तो माया, आँखैमा, पर्दैन पर्दैन मलाई फकाउन, मुरली तिरिरी, सम्बन्ध, बस पर्खेर’ लगायतका हिट गीत गाएकी बेनिशा झापा दमक निवासी हुन् ।
प्रतिक्रिया