Logo

Breaking News 1

‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवाहरुले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । शनिबार जेनजी पुस्ताको माग अनुसार अन्तरिम सरकारले काम नगरेको भन्दै उनीहरुले विरोध पदर्शन गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा युवा नेतृ खुश्बु ओलीले अन्तरिम सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीको भावनालाई लत्ताएर सरकार परिवर्तन मात्र उपलव्धिको रुपमा लिएर अघि बढ्न खोजेको बताइन् ।

उनले भनिन्, ‘क्रान्तिपछि बनेको सरकारले संविधान संशोधनको पहल नगर्नु, जेनजी विद्रोहलाई बर्बर दमन गर्नु, तत्कालिन राज्य सञ्चालकहरुलाई कारवाहीको प्रक्रिया सुरु नगर्नुले शसकित मात्र बनाएको छैन सरकार क्रान्ति र बलिदानीको भावनालाई लत्ताएर सरकार परिवर्तन मात्र उपलव्धिको रुपमा लिएर अघि बढ्न खोजेको देखिन्छ ।’

उनले क्रान्तिको बलमा संसद् विघटन गरेर संसद भन्दा बाहिरबाट बनेको सरकारले क्रान्ति र सहादतमाथि बेइमानी गरेको बताइन् ।

‘यो सरकार सडकमा तातो गोली खाएर ढलेका नव युवकको बलिदानीलाई अपमान गर्न उद्धत छ भन्ने आशंका बढाएको छ,’ उनले भनिन् ।

क्रान्तिको भावना विपरित जाने छुट आजको अन्तरिम सरकारलाई नभएको भन्दै असफल राजनीतिक दलका नेताहरु पुन राजनीतिक कृयाकलापमा फर्किनु उचित नभएको बताइन् ।

‘क्रान्तिको भावना विपरित जाने छुट आजको अन्तरिम सरकारलाई छैन । सहिदका रगत सुक्न नपाउँदै र खरानी भएका संरचनाहरुमाथि टेकेर पुनः यिनै असफल राजनीतिक दलका नेताहरुले मुन्टो उठाउने ढृष्टता गर्नुले ऐतिहासिक बलिदानीमाथि उपहास गरेको आम मानिसको निष्कर्ष छ,’ उनले भनिन् ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १ : ४४ बजे