Logo

Breaking News 1

चाडपर्वमा अस्वस्थ्यकर खानपान : उच्च रक्तचाप र मधुमेहको कारण



रमाइलो गरेर चाडपर्व मनाऔं, स्वस्थ्य रुपले वा स्वास्थ्यकर खानेकुरा खाएर मनाऔं । मानसिक र शारीरिक रूपमा स्वस्थ्य रहेर मनाउनुपर्छ । खानपानले यस्तै किसिमको रोग निम्त्याउछ भन्ने त हुँदैन तर सचेत चाहीं हुनैपर्छ ।
डा. अरुणा उप्रेती
जनस्वास्थ्यविद्

स्वस्थ्य खानाको छनोट गर्नका लागि धेरै सोच विचार गर्नु पर्दैन् । हामीहरुले खाइरहेको सामान्य दाल–भात, तरकारी, अचार, दूध, दही, मोही, हलुवा, खिचडी नै खाने हो । तर, चाडपर्वको बेलामा चाहीं विशेष किसिमका खानेकुराहरू पनि बनाइन्छ । शाकाहारीहरूले खीर वा मिठाइहरू खान्छन् । माछा र मासु खानेहरूले त विभिन्न परिकार खान्छन् । खसी र कुखुराको मासु, माछा, अण्डा खान्छन् ।

तर चाडपर्वमा ध्यान दिनुपर्ने कुरा के छ भने पेट भरिसकेपछि पनि जबरजस्ती खाने प्रचलन छ । चाडपर्वमा बनाइएका परिकार मिठो मसिनो हुने भएकाले धेरै खाने गरिन्छ । आफन्त वा साथीसंगतसँग रमाइलो गरिन्छ । विभिन्न प्रकारका परिकारहरू बनाएर खाँदा अटसमटस हुनेपनि गर्छ । त्यसैले चाडपर्वमा आफूले खान सक्ने अथवा आफ्नो जति भोक लाग्छ, त्योभन्दा बढी नखाने भनेर पहिलै तयारी गर्नुपर्छ । मनस्थिति त्यस्तै बनाउनुपर्छ ।

मांसाहारीहरूले मासु पकाउँदा एकदमै धेरै तेल वा चिल्लो हाल्ने, त्यसपछि मसला हालेर पकाउने गर्छन् । त्यो खाँदा एकछिन त जिब्रोलाई स्वाद दिन्छ तर धेरै मासु वा त्यसका परिकारहरु खाँदा त्यसमा रेशादार तत्व नभएकाले कब्जियत गराउन सक्ने सम्भावना हुन्छ । त्यसैले माछा–मासु खाँदाखेरि धेरै मात्रामा वा दिनमा तीन पटक नै खानु हुँदैन् । सलादका रुपमा काँक्रो अथवा फलफूलहरूको प्रयोग गर्नुपर्छ ।

जो शाकाहारी हुनुहुन्छ, उहाँहरूले विभिन्न किसिमका तरकारीहरू त खाइहाल्नुहुन्छ । तर मिठाइ खाने भनेर एकदम धेरै गुलियो मिठाइहरूले केही फाइदा गर्दैन् । त्यसमाथि पनि कसैकसैलाई विभिन्न किसिमका समस्याहरू आइपर्छन् । नसर्ने रोगहरू, मधुमेह, उच्च रक्तचाप, मुटुका रोगको समस्या भएकाहरुलाई असर गर्छ । कसैलाई जोर्नीहरू एकदमै दुख्ने समस्या देखिन्छ । त्यस्तोबेला एकदमै ध्यान पुर्याउनुपर्छ । दशैँ वा तिहारको बेलामा रमाइलो गरिसकेपछि पछि बिरामी नहोस भनेर घरमै बनाइएका खानेकुराहरू स्वास्थ्यकर हुन्छन् ।

खानेकुराहरूलाई बारम्बार तताएर, तेल वा घिउमा बेस्सरी तारेर बारम्बार खानु हुँदैन् । एउटै तेललाई बारम्बार तताउनु हुँदैन् । तारेको तेललाई किन फाल्नु भनेर अरू खानेकुराहरू तताउनु हुँदैन् । किनभने एउटै तेल बारम्बार तताउँदा, त्यसमा भएको नराम्रो बोसो अथवा नराम्रो चिल्लो पदार्थ जुन छ त्यसले शरीरमा क्यान्सर पनि उत्पन्न गराउन सक्छ भन्ने अध्ययनले देखाएको छ ।

यसका साथ–साथै विभिन्न मुटुरोग विशेषज्ञहरूले यस्तो किसिमको तेलहरूमा चाहीं ट्रान्सफ्याट अथवा नराम्रो खालको बोसो हुन्छ भनिएको छ । त्यसले मुटुमा पनि समस्या पर्छ र मुटुमा समस्या भइरहेकै मान्छेहरू, मधुमेह, उच्च रक्तचाप भएकाहरूलाई त झनै समस्या पर्छ । त्यसैकारणले गर्दा तेल बढी भएको खण्डमा तताएर प्रयोग गर्नुको साटो फालिदिनुपर्छ । अलिकता लोभले गर्दाखेरि विभिन्न किसिमको समस्याहरू देखिनुको साटो खानेकुरा कसरी पकाउने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

सामान्य चाडपर्वको बेलामा मात्र नभइ अरु बेलामा पनि खानपान र स्वास्थ्यको बीचमा चाहीं एकदमै धेरै ख्याल गर्नुपर्छ । ‘पेट सफा त हर रोग दफा’ अर्थात् पेट सफा भयो भने कब्जियत, पेटमा रोग लागेन भने विभिन्न किसिमका समस्याहरू हुँदैनन् भन्ने पनि होइन् । विभिन्न अध्ययनहरूले के देखाइरहेको छ भने, जे खानेकुराहरू खान्छौं, त्यसले हाम्रो शारीरिक स्वास्थ्यमा मात्रै होइन मुटु, कलेजो, मिर्गौला, आन्द्रा मात्रै स्वास्थ्य राख्ने भन्ने होइन मानसिक स्वास्थ्य स्वस्थ राख्न, मानसिक रूपमा स्वास्थ्य रहनमा पनि धेरै ठूलो भूमिका खेल्छ । मस्तिष्क–स्वास्थ्य र पेट–स्वास्थ्यको बीचमा कस्तो सम्बन्धका बारेमा बुझ्नुपर्छ । पेट स्वस्थ रह्यो भने मस्तिष्क पनि स्वस्थ रहन्छ भन्ने अध्ययनले देखाएको छ ।

हाम्रो पेटमा अर्बौं–खर्बौं ब्याक्टेरियाहरू, किटाणुहरू हुन्छन् तिनीहरु स्वस्थ रहेभने, तिनीहरूबाट निस्केको एउटा विशेष किसिमको तत्व, जसलाई सेराटोनीन भनिन्छ, जसले हाम्रो मस्तिष्कलाई खुसी पार्न, आनन्द दिनलाई मद्दत पु¥याउँछ । मस्तिष्कलाई खुसी पार्ने जुन तत्व हुन्छ, त्यो ८० देखि ९० प्रतिशत पेटमा उत्पन्न हुने रहेछ । त्यसकारण पेटलाई स्वस्थ राख्नुपर्छ । ताकि मस्तिष्क पनि स्वस्थ रहोस् भन्ने कुरा यसले देखाउँछ । त्यसैले मान्छेको पाँच–छ फिटको शरीरमा रहेको दुई, तीन इन्चको जिब्रोले धेरै कुरा कन्ट्रोल गर्नसक्छ भन्ने हो । जिब्रोलाई मिठो लाग्ने खानेकुरा खाँदा पेटको स्वास्थ्यमा नराम्ररी असर पारिरहेको हुन्छ ।

विभिन्न पत्रु खानेकुराहरू, कोल्ड ड्रिङ्कहरू, रक्सी, जाँडले त मानसिक र शारीरिक रुपमै असर पार्छ । अध्ययनहरूले के देखाएको छ भने धेरै जाँडरक्सी खाने मानिसहरूलाई पछि विभिन्न किसिमका मानसिक समस्याहरू हुन सक्ने सम्भावनाहरू धेरै छन् । मस्तिष्क र खानपिनको सम्बन्धलाई जोडेर अहिले धेरै अध्ययन भइरहेछ । त्यसको अर्थ मानसिक रोग लागेको मानिसहरूलाई स्वस्थ्य खानेकुरा दिएर मात्रै ठीक हुन्छ भन्ने होइन् । मानसिक रोग विज्ञले भनेअनुसार औषधि पनि खानुपर्छ । परामर्श पनि लिनुपर्छ । त्यसैल खानपिनमा धेरै ध्यान दिनुपर्छ ।

दशैँ–तिहार मनाउँदा विरामी परियो भने स्वस्थ्य भएर काममा जान सकिदैन् । चाडपर्वमा रमाइलो गरौँ, राम्रोसँग मनाऔँ । यो हाम्रो संस्कृतिको अङ्ग हो । चाडपर्व मनाउँदा सामाजीकरणमा पनि ठूलो भूमिका खेल्छ । हामीलाई मानसिक रूपमा पनि आनन्द दिन्छ । अध्यात्ममा रुचि राख्नेहरूलाई दुर्गा भवानीको पूजा–आराधनाले पनि धेरै ठूलो मनमा आनन्द दिन्छ ।

त्यसैले रमाइलो गरेर चाडपर्व मनाऔं, स्वस्थ्य रुपले वा स्वास्थ्यकर खानेकुरा खाएर वा मानसिक र शारीरिक रूपमा स्वस्थ रहेर मनाउनुपर्छ । खानपानले यस्तै किसिमको रोग निम्त्याउछ भन्ने होइन तर सचेत चाहीं हुनैपर्छ । कसैलाई मधुमेह एवम उच्च रक्तचापको समस्या आयो वा खानपानमा सावधानी अपनाउन नसक्दा समस्या आयो भने घर परिवारमा पनि तनाव हुन्छ । त्यसैले बालबालिकाको अवस्थादेखि नै स्वास्थ्यकर खानेकुरा खानपर्छ ।

आमा वा अभिभावकहरूले स्वास्थ्यकर खानेकुरा खान सिकाउनुपर्छ । र खानेकुरा खान सिकाउने मात्रै होइन स्वास्थ्यकर खानेकुरा दाल, भात, तरकारी, अचार जस्ता कुराहरू त कसरी बनाउने भन्ने पनि सिकाउनुपर्छ । ताकि त्यो बालबालिकाहरू भोलि युवा भइसकेपछि वा वयस्क भइसकेपछि स्वास्थ्यकर खानेकुरा खान मात्रै होइन पकाउन पनि सिकोस् । आफ्नो हातले पकायो भने स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।

नियमित स्वास्थ्यकर खानेकुराहरु खाएपछि मोटोपनको समस्या, मधुमेह हुनसक्ने सम्भावनाहरु कम हुन्छ । अस्वस्थ्य जीवनशैलीले धेरै समस्या निम्ताउने भएकाले तेलमा भुटेका र पत्रु खानेकुरा, प्याकेटमा भएका खानेकुराहरु, आलु चिप्सदेखि लिएर चाउचाउ, मैदाको मःम खाँदा एकछिन त आनन्द आउछ तर लामो समयपछि अनेक समस्याहरु देखिन्छन् । त्यसैले चाडपर्वको बेलादेखि नै अभिभावक, बालबालिका, वयस्क वा युवायुवतीहरुले आफ्नो खानपानमा ध्यान दिने हो भने, शारीरिक र मानसिक रुपमा स्वस्थ रहनमा ठुलो भूमिका खेल्छ ।

फूड पोइजनिङको समस्या पर्छ भने एउटा विचार गर्नुपर्छ । मासु खाँदाखेरि त्यसमा रेशादार तत्व नहुने भएकाले रेशादार तत्वहरु शरीरमा परोस् भनेर हरियो तरकारी, फलफुलहरु, अम्बा, हलुवाबेत जस्ता खानेकुरा खानुपर्छ । माछामासु खाइसकेपछि कोल्ड ड्रिंक खायो भने पच्छ भनेर मान्छेहरुले कोल्ड ड्रिंकहरु धेरै खान्छन् । त्यस्तो किसिमका खानेकुराहरुले पछि समस्या पार्छ । सकेसम्म पत्रु खानेकुराहरुलाई आफ्नो जिन्दगीबाट हटाउनैपर्छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ८ : ३८ बजे