काठमाडौँ । नेपालमा विद्यमान जेनजी विद्रोहका कारण पहिलो नम्बरमा प्रभावित भएको पर्यटन उद्योग सुरक्षित रहेको सरोकारवालाहरूले बताएका छन् ।
बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय पर्यटन कार्यालय काठमाडौँको आयोजनामा विश्व पर्यटन दिवस २०२५ को अवसरमा आयोजित पर्यटन क्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले बागमती प्रदेशको पर्यटन सुरक्षित रहेको बताएका हुन् ।
बागमती प्रदेशको पर्यटकीय क्षेत्र तथा पर्यटन सुरक्षित अवस्थामा रहेका छन् भन्ने म्यासेज पर्यटनसम्म पु¥याउन नसक्दा पर्यटन उद्योग धारासायी भएको बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बताएका थिए ।
उनका अनुसार बागमती प्रदेश नेपालको ८० प्रतिशत भन्दा बढी पर्यटक भित्रने क्षेत्र हो यसलाई अवसरका रूपमा लिन सके प्रदेशको समृद्धि पर्यटन उद्योगबाट मात्र सम्भव रहेको समेत बताए ।
कार्यक्रममा मन्त्री सुरेश श्रेष्ठले बागमती प्रदेशका विविध पर्यटन स्थल भ्रमण गर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आह्वान गर्दै, पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको समेत बताए ।
यस्तै, कार्यक्रममा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले मन्त्रालयले बागमती प्रदेशमा कसरी पर्यटनको विकास गर्न सकिन्छ भन्ने विषयमा गहिरिएर अध्ययन गर्दै यसको विकासका लागि ३ अर्ब बढीको बजेट समेत विनियोजन गरेको बताए ।
उनले नयाँ पर्यटकीय गन्तव्यहरूको सम्भाव्यता अध्ययनदेखि भएका पर्यटकीय क्षेत्रको प्रचार प्रसार देखि विकासमा मन्त्रालय प्रतिबद्ध भएर काममा लागि रहेको पनि बताए ।
बागमती प्रदेशले कसरी पर्यटनलाई यहाँका जनताहरूमा आम्दानीको स्रोत तथा प्रदेश विकासको मेरुदण्ड बनाउने भन्ने विषयमा आफूहरूले काम गर्दै आएको पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन पोखरेलले बताए ।
यस्तै, कार्यक्रममा सहभागीहरूले नेपाल पर्यटनका लागि सुरक्षित रहेको सन्देश दिन नसक्दा नेपालमा पर्यटकहरूले दिन दिनै आफ्नो भ्रमण रद्द गर्ने गरेको बताएका थिए ।
कार्यक्रममा सहभागी नेपाल पर्यटन बोर्ड, होटेल व्यवसायी महासङ्घ, हान, टान, टुर गान, लगायतका पर्यटनसँग सम्बन्धित व्यवसायी तथा संस्थाहरूले नेपालमा पर्यटन सुरक्षित रहेका छन् भन्ने प्रचार गर्न नसक्दा यो छोटो समयमा नै अर्बौ रुपैंयाको घाटा बेहोर्नु परेको समेत बताएका थिए ।
प्रतिक्रिया