काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा व्यवसायी डा. उपेन्द्र महतोको काठमाडौंको विशालनगरस्थित १५० वर्ष पुरानो राणाकालीन ऐतिहासिक घरमा आगजनी, तोडफोड र लुटपाट भएको छ।
जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते भएको घटनामा घरभित्र राखिएका एन्टिक सामग्री, गरगहना, नगद र अन्य सामान चोरी भएको महतोले बताए। उनका अनुसार घरमा विश्वका विभिन्न देशबाट ल्याइएका वस्तु तथा उनकी पत्नीले संकलन गरेका सामग्रीहरू पनि जलेर नष्ट भएका छन्।
महतोले भने, “यो घर केवल मेरो व्यक्तिगत सम्पत्ति मात्र थिएन, यो नेपालकै गौरव थियो। यहाँबाट गैरआवासीय नेपालीहरूको धेरै अभियान सुरु भएका थिए।” उनले सरकारले आन्दोलनकारी र लुटपाटमा संलग्न व्यक्तिहरूबीच फरक पारेर दोषीलाई कारबाही गर्न माग गरे।
महतोले धनीप्रति नकारात्मक धारणा राख्ने मानसिकता विकास र समृद्धिको बाधक भएको दाबी गर्दै मेहनत र ईमान्दारीले धन आर्जन गर्न सकिने सन्देश दिनुपर्ने बताए। उनले भने, “धनीहरूलाई पापी भन्ने सोच राखियो भने देश अझै खरानी भएर जान्छ। प्रत्येक नेपाली धनी बन्ने बाटोमा लाग्नुपर्छ।”
अहिले भावनात्मक चोट पुगे पनि नेपाल विकासमा योगदान दिने अठोटमा आफू अडिग रहेको महतोको भनाइ छ।
प्रतिक्रिया