Logo

खेलकुद

बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा, भारतसँग तेस्रो भिडन्त


१० आश्विन २०८२, शुक्रबार  

115
Shares

काठमाडौं । पाकिस्तान एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सुपर फोर चरणको खेलमा बंगलादेशलाई ११ रनले पराजित गर्दै पाकिस्तानले फाइनलमा भारतसँगको तेस्रो भिडन्त पक्का गरेको हो ।

पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनायो । जवाफमा बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो ल।

पाकिस्तानका लागि मोहम्मद हारिसले सर्वाधिक ३१ रन बनाए भने मोहम्मद नवाजले २५ रन जोडे । सलमान आघा र शाहीन अफ्रिदीले समान १९–१९ रन बनाएका थिए । फहीम अशरफ १४ रनमा अविजित रहे भने फखर जमानले १३ रन बनाए ।

बलिङतर्फ बंगलादेशका तास्किन अहमदले सर्वाधिक ३ विकेट लिए । मेहदी हसन र रिशाद होसेनले २–२ विकेट लिँदा मुस्तफिजुर रहमानले १ विकेट लिए ।

लक्ष्य पछ्याउन उत्रिएको बंगलादेशको सुरुवात राम्रो भएन । शमिम होसेनले सर्वाधिक ३० रन बनाए । सेफ हसनले १८, नुरुल हसन सोहन र रिशाद होसेनले समान १६–१६ रन बनाए । अन्य ब्याटर उल्लेखनीय प्रदर्शन गर्न असफल रहे ।

अब पाकिस्तान फाइनलमा भारतसँग तेस्रो पटक भिड्नेछ । यसअघि भएका दुवै खेलमा भारत विजयी भएको थियो । तेस्रो भेटमा पाकिस्तानसँग उपाधि जित्दै बदला लिने अवसर रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ९ : ०७ बजे