कञ्चनपुर । प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्दै उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन्।
विपिन सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। २०८० सालको असोजमा हमासले इजरायलमा गरेको आक्रमणमा उनी बन्धक परेका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो।
परिवारका अनुसार विपिनको सकुशल रिहाइको माग अन्तर्राष्ट्रिय स्तरमा उठाउन उनीहरू अमेरिका गएका हुन्। बहिनी पुष्पा जोशीले अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गराउन अमेरिका जाने निर्णय भएको जानकारी दिइन्। उनका अनुसार यसअघि पनि उनीहरू इजरायल गएका थिए, र यसपटक संयुक्त राष्ट्रसंघमार्फत थप दबाब सिर्जना गर्ने लक्ष्य रहेको छ।
“दाइको रिहाइ अन्तर्राष्ट्रिय मुद्दा भएकाले अन्य देशका नागरिकले पनि आवाज उठाउनुपर्छ,” पुष्पाले भनिन्।
इजरायल सरकारले नै पदमा र पुष्पालाई अमेरिका जान सहयोग गरेको परिवारले जनाएको छ। यसअघि पनि इजरायली पहलमा उनीहरूलाई इजरायल लैजाने व्यवस्था गरिएको थियो।
हालै हमासले विपिनसहित ४८ जना बन्धकको तस्बिर सार्वजनिक गरेको थियो। हमासले उक्त तस्बिरलाई ‘बिदाइ तस्बिर’को रूपमा उल्लेख गरे पनि परिवारले त्यसलाई इजरायलको आक्रमणलाई उचित ठहर्याउन प्रयोजन गरिएको हुनसक्ने आशंका व्यक्त गरेको छ।
विपिनका बुबा महानन्द जोशीले छोराको रिहाइका लागि नेपाल सरकार अझ बढी सक्रिय हुनुपर्ने बताउँदै भने, “सरकारले कतारलगायतका मुलुकसँग समन्वय गरी पहल गरे रिहाइ सम्भव छ। अब पनि आशा छ, छोरालाई फर्काउन कूटनीतिक प्रयास बढ्नुपर्छ।”
प्रतिक्रिया