Logo

विश्व

६.३ म्याग्निच्युडको भूकम्पले भेनेजुएला हल्लायो, ठूलाे क्षति भने भएन



काराकस। उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार भूकम्पको केन्द्रविन्दु जुलिया राज्यको मेने ग्रान्डे शहरबाट १४ किलोमिटर टाढा र २७ किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्प राजधानी काराकससहित अन्य सहरहरूमा समेत महसुस गरिएको थियो। काराकस केन्द्रविन्दुबाट ६०० किलोमिटर टाढा भए पनि केही भवनहरू हल्लिएका कारण स्थानीय बासिन्दा सडकमा निस्कन बाध्य भएका थिए।

USGS ले भूकम्पबाट सुनामीको कुनै खतरा नरहेको जनाएको छ। भूकम्पको कारण तत्काल कुनै ठूलो संरचनात्मक क्षति नभएको भेनेजुएलाका गृहमन्त्री डायोस्डाडो क्याबेल्लोले राज्य टेलिभिजनमार्फत जानकारी दिएका छन्।

यसअघि केही घण्टाअघि सोही क्षेत्रमा ६.२ म्याग्निच्युडको अर्को भूकम्प आएको थियो, जसको धक्का छिमेकी कोलम्बिया र क्यारिबियनका अरुबा, कुराकाओ र बोनेयर टापुहरूमा समेत महसुस गरिएको थियो।

भेनेजुएलामा शक्तिशाली भूकम्पहरू दुर्लभ मानिन्छन्। सन् १९९७ मा सुक्रे राज्यमा आएको भूकम्पमा ७३ जनाको मृत्यु भएको थियो भने सन् १९७६ मा काराकसमा आएको भूकम्पमा करिब ३०० जनाको मृत्यु र २,००० भन्दा बढी घाइते भएका थिए।

हालको भूकम्पमा जनधनको क्षति नदेखिए पनि स्थानीय प्रशासन उच्च सतर्कतामा रहेको जनाएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ११ : ४० बजे