Logo

अर्थ

नेप्से अध्यक्ष र सीईओको राजीनामा माग गर्दै कर्मचारीको धर्ना सुरु



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरूले अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंको राजीनामा माग गर्दै धर्ना सुरु गरेका छन्।

बुधबारदेखि कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर नियमित कार्यसहित धर्ना बस्न सुरु गरेका हुन्। नेप्से कर्मचारी संघको अगुवाइमा सुरु भएको आन्दोलनमा कर्मचारीहरूले अध्यक्ष र सीईओमाथि संस्थालाई विशेष समूहको हितमा सञ्चालन गर्न खोजेको आरोप लगाएका छन्।

संघका अनुसार बस्याल र चापागाईं दुवैले संस्थागत हित विपरीत क्रियाकलाप गरेको, आन्तरिक विवाद मिलाउन पदमा आएको, र व्यवस्थापकीय पारदर्शिताको अभाव देखिएको उल्लेख गरिएको छ। उनीहरूले दुवैजनालाई तत्काल राजीनामा दिन माग गरेका छन्।

हेमन्त बस्याल यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका सीईओ थिए। उनले सो पदबाट राजीनामा दिएर नेप्सेको अध्यक्ष बनेका हुन्। नेप्से सीईओका लागि आवेदन दिएका बस्याल अन्तिम ५ उम्मेदवारमा परे पनि, सरकारले उनलाई अध्यक्षमा नियुक्त गरेको थियो। यसअघि नेप्से अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिवले सम्हाल्ने गरेका थिए।

कर्मचारीहरूका अनुसार बस्याल मासिक पाँच लाख तलब पाउने पद त्यागेर नेप्सेको बैठक भत्तामात्रै पाउने अध्यक्ष पदमा आउनु आफैंमा संकास्पद भएको बताएका छन्।

नेप्से नेतृत्वविरुद्धको यो आन्दोलन कहिलेसम्म जारी रहने हो भन्नेबारे संघले थप जानकारी दिएको छैन।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ६ : ५२ बजे