काठमाडौं – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका नेताहरूले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै भइरहेको गतिविधिप्रति आपत्ति जनाउँदै विभाजन ल्याउने प्रयास नगर्न चेतावनी दिएका छन्।
सुदूरपश्चिम प्रदेश कार्यवाहक सभापति लोकराज अवस्थीको नेतृत्वमा मुख्यमन्त्री कमलबहादुर शाह, केन्द्रीय सदस्यहरू नृपबहादुर वड, सुशीला मिश्रलगायत २३ जना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै हालको परिस्थितिमा पार्टीभित्र एकता आवश्यक भएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेसको विधान र सभापतिज्यूले नियमित महाधिवेशनमा पुनः उम्मेदवारी नदिने घोषणा गर्नुभएको विषय पार्टीका सबै पदाधिकारी र सदस्यले मनन गर्नुपर्छ।” साथै, नेताहरूले महासमिति सदस्यहरूको हस्ताक्षर संकलन, अल्पमत–बहुमतको बहस र विशेष महाधिवेशनको माग जस्ता गतिविधिले भ्रम फैलाउने र पार्टी विभाजनतर्फ जाने खतरा रहेको जनाएका छन्।
विज्ञप्तिमा, “पार्टीमा द्वन्द्व र विभाजन ल्याउने कुनै निर्णय नगर्न पार्टी पदाधिकारीहरूको ध्यानाकर्षण गराउँछौं,” भनिएको छ। उनीहरूले लोकतन्त्र कमजोर बनाउने कुनै पनि गतिविधिबाट सचेत रहन सबैलाई अपिल गरेका छन्।
नेताहरूले वर्तमान राजनीतिक परिस्थिति विषम र अस्थिर रहेको उल्लेख गर्दै पुनर्निर्माण र जनताको विश्वास कायम गर्न पार्टी एकता आवश्यक रहेको धारणा राखेका छन्। साथै, कांग्रेसलाई जनतासँग निरन्तर जोड्न र मुलुकलाई निकास दिन आन्तरिक एकता मजबुत बनाउनु पर्ने माग समेत राखिएको छ।
विज्ञप्तिमा असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने, पुनर्स्थापित संसदमा जेनजीको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने र त्यही संसदमार्फत संविधान संशोधन गरिनुपर्ने धारणा समेत व्यक्त गरिएको छ।
प्रतिक्रिया