रामेछाप । नेपालीहरूको महान् चाड दशैँ नजिकिएसँगै रामेछापको मन्थली बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढेको छ । मन्थली बजारमा कपडा तथा उपभोग्य सामाग्री किन्ने मानिसहरूको भिड बढेको छ ।
अहिले मन्थली बजारका व्यवसायीहरूलाई सामान बेच्न भ्याई नभ्याई छ भने उपभोक्ताहरू पनि सामान किन्ने चटारोमा देखिन्छन् ।
यसैगरी काठमाडौं लगायत सहरहरूमा कामको सिलसिलामा बसेकाहरू घर फर्कने क्रम बढेसँगै बजार केन्द्रमा चाप बढेको छ ।
अन्य पसलहरूसँगै कपडा, जुत्ता–चप्पल र खाद्यान्न पसलहरूमा उपभोक्ताको भिड देखिन्छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष राम्रो व्यापार भएको शुभमंगल वस्त्रालयका सञ्चालक हरेराम गुप्ता बताउँछन् ।
अघिल्लो वर्ष दशैँको मुखमा ठुलो बाढी पहिरो आएर रामेछाप काभ्रे लगायतका क्षेत्रमा ठुलो धनजनको क्षति भएपछि व्यापार निक्कै कम भएका थियो ।
मन्थली बजारमा सामान किन्न मन्थली नगरपालिकाको साथै रामेछाप, लिखु तामाकोशी, खाँडादेवी, दोरम्बा शैलुङ, गोकुलगंगा लगायता स्थानीय तहका मानिसहरू आउने गरेका छन् । बजारमा बिहानदेखि साँझसम्म किनमेल गर्ने मानिसहरूको भिड देखिएको छ ।
प्रतिक्रिया