काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सरकार र समाजलाई आग्रह गरेका छन्। मंगलबार महासंघमा आयोजित कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै उनले निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको दोहोर्याए।
ढकालका अनुसार निजी क्षेत्रले मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिएको छ । तर, आन्दोलनका क्रममा निजी क्षेत्र बारम्बार निशानामा पर्नु गम्भीर विषय भएको उनको भनाइ छ। भाद्र २३ र २४ गतेपछिको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले हालसम्म करिब ८० अर्ब रुपैयाँ बराबरको निजी सम्पत्तिमा क्षति पुगेको प्रारम्भिक तथ्यांक उनले सार्वजनिक गरे।
ढकालले सरकारको राहत प्याकेजलाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै निजी क्षेत्रको मनोबल उकास्ने काम भएको बताए। उनले सञ्चारकर्मीलाई तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारितामार्फत निजी क्षेत्रको विश्वसनीयता र नीतिगत सुधारका लागि दबाब सिर्जना गर्न आग्रह गरे।
महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पछिल्ला घटनाले उद्योगी–व्यवसायीमा असुरक्षाको भावना बढाएको र नेपालबारे अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश गएको बताए। उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासनका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद संयन्त्र आवश्यक रहेको बताए।
महासंघका कोषाध्यक्ष भरतराज आचार्यले अर्थतन्त्रको पुनर्निर्माण र सुरक्षाका लागि सरकार–निजी क्षेत्रबीच समन्वय अनिवार्य रहेको उल्लेख गरे। सेजनका अध्यक्ष भागवत भट्टराईले खुला अर्थतन्त्र र रोजगारीमा पैरवी गर्ने प्रतिबद्धता दोहोर्याउँदै महासंघसँगको सहकार्यलाई निरन्तरता दिने बताए।
महासंघले बदलिँदो राजनीतिक परिस्थितिमा आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकार र सरोकारवालालाई संयुक्त प्रयास गर्न आग्रह गरेको छ।
प्रतिक्रिया