काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले जेनजी प्रदर्शनपछि सरकारले आर्थिक पुनःउत्थानमा काम गर्नुपर्ने बताएका छन् ।
मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थतन्त्रको पुनःउत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।
‘जेनजी प्रदर्शनले भौतिक क्षति ठूलो मात्रामा भएको छ । यस्तो क्षति यो भन्दा पहिला कहिले पनि भएको थिएन । आर्थिक हिसाबमा क्षति भन्दा यसको प्रभाव झनै ठूलो छ,’ थापाले भने, ‘यद्यपि, सरकारले वित्तीय स्थिति बिग्रिन नदिन केही प्याकेजहरु दिने घोषणा गरिसकेको छ । अब सरकारले यि कुराहरुलाई निरन्तरता दिँदै आर्थिक पुनःउत्थानमा काम गर्नुपर्ने आवश्यक छ ।’
उनले केन्द्रीय बैंकको ऐनमा भएको व्यवस्था बमोजिम ओडी लिएर पुननिर्माणमा लाग्दा उचित हुने सुझाए । अबको मुख्य विषय स्रोत व्यवस्थापन भएकाले अहिले सरकार ओडी लिएर पुननिर्माणमा जुट्नुपर्ने उपयक्त समय भएको उनको भनाइ छ ।
ओडी लिएर पुनर्निर्माण गर्दा यसले सार्वजनिक ऋण नबढ्ने र विदेशी मुद्रा सञ्चितिमा पनि असर नपर्ने धारणा थापाले राखे । सरकारले क्षति पुगेका प्रहरी चौकी लगायतका संरचना यसरी निर्माण हुन्छ र तदअनुरुप राज्यका संयन्त्र परिचालन हुन्छ भनेर नागरिकसामू भनेर मनोबल उकास्न जरुरी भएको पनि बताए ।
‘निजी क्षेत्रमा ८० अर्बको क्षति भएको अनुमान आएको छ भने व्यक्तिगत पनि धेरै क्षति भएको छ । यसमा सरकारी संयन्त्रको क्षति पनि जोड्दा करिब २४० अर्ब अर्थात् मुलुकको कुल ग्राहस्र्थ उत्पादन (जिडीपी)को चार÷पाँच प्रतिशत असर पुराएको अनुमान गर्न सकिन्छ,’ थापाले भने, ‘बेरोजगारीका कारण आन्दोलन भएकोमा अहिले, यहि आन्दोलनका कारण थप बेरोजगार बढ्ने हो कि भन्ने पनि देखिएको छ ।’
उनले धेरैको रोजगारी गुमिसकेको अवस्थामा यसको मुख्य असर विश्वभर नै नेपाल भ्रष्टाचारयुक्त मुलुकको रुपमा दर्ज भएको पनि बताए ।
निजी क्षेत्रको मनोलब कमजोर भएको र व्यापार व्यवसायसमेत धराप बनेको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
विदेशी लगानी पनि आउने कि नआउने भनेर सोच्न बाध्य हुने स्थिति सिर्जना भएकाले यी सबै विषयलाई मध्यनजर गरेर आधार बनाउँदै अगाडि बढ्नुपर्ने थापाले बताए ।
उनले सरकार पुननिर्माण, आर्थिक सुधार, संस्था सबलीकरण, लगायत काममा अगाडि बढ्न आवश्यक भएको बताए ।
प्रतिक्रिया