रौतहट । रौतहट सहित मधेश प्रदेशका जिल्लामा रहेका शक्तिपीठमा दुर्गा पुजाको तयारी थालिएको छ । दुर्गा भगवती गाउँपालिकामा रहेको मत्सरीको भगवती मन्दिर र राजदेवी मन्दिरमा पनि दुर्गा पुजाको तयारी अन्तिम चरणमा पुगेको छ ।
राजदेवी मन्दिर परिसरमा श्रद्धालु भक्तजनले चढाएका घन्टहरूमध्ये विसं १९०२ असोज २६ गते तत्कालीन लेफ्टिनेन्ट मानध्वज कार्कीले चढाउनुभएको घन्ट अझै पनि छ । गौरदेखि करिब तीन किलोमिटरपूर्व बागमती नदीको छेउमा रहेको राजदेवी मन्दिर मल्लकालीन राजा प्रताप मल्लले सन् १६४९ मा स्थापना गरेको अभिलेख पाईन्छ ।
नवरात्रभर राजदेवी मन्दिर परिसरमा मेला नै लाग्ने गरेको स्थानियहरुले बताएका छन् । मत्सरी भगवती मन्दिर एक सय वर्ष पुरानो मानिन्छ । ती दुवै मन्दिरमा नवरात्रिभर स्थानीय तथा भारतीय भक्तजनको भिड लाग्ने गर्छ ।
यस मन्दिरमा नवरात्रभर भक्तजनहरुको घुइँचो लाग्ने भएकाले शान्ति–सुरक्षामा प्रहरीले ध्यान दिएको इलाका प्रहरी कार्यालय गंगा पिपराका सई गौरव दासले बताए । जनताको सुरक्षालाई उच्च प्राथमिकता दिइने उनको भनाइ छ । नवरात्रिको पहिलो दिन र सप्तमीको राति मन्दिरमा निशा पूजा गरिन्छ । त्यस दिन भक्तजनहरुको बढी घुइँचो हुने उनको अनुमान छ ।
यस दिन धेरैले दिनभरि नै उपवास तथा निराहार बसेर नवरात्रभर पूजापाठ गर्छन् । कोही अरवा मात्र खाएर पूजापाठ गर्ने गर्दछन् ।
जिल्लाका विभिन्न स्थानमा दुर्गा पुजा समितिले देवी दुर्गाको मुर्ति स्थापना गरी विधिवत रुपमा पुजापाठ गर्दै आएका छन् । माता दुर्गालगायत गणेश, काली, चण्ड, मुण्ड, शुम्भ, निशुम्भलगायतको प्रतिमा बनाउने परम्परा रहेको छ ।
माता दुर्गाका तीन स्वरूप महाकाली, महालक्ष्मी एवं सरस्वती माताका विधिवत् रूपले आराधना गर्ने गरिन्छ । शक्तिको प्रतीक काली, धनकी देवी लक्ष्मी, विद्या एवं बुद्धिको प्रतीकको रूपमा सरस्वती माताको आराधना गर्ने परम्परा रहिआएको हो । जसका कारण नवरात्रभर शहरी तथा ग्रामिण भेगमा चहलपहल बढ्ने गर्दछ ।
प्रतिक्रिया