काठमाडौं । नेपाली कांग्रेसका पाँच शीर्ष नेताहरूले देश संकटमा परेका बेला पार्टीलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्।
कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र प्रकाशरण महत आइतबार चाक्सीबारीमा भेटघाट गरी यस्तो निष्कर्षमा पुगेका हुन्। उनीहरूले पार्टी संस्थापक नेता गणेशमान सिंहको घरको अवलोकनसमेत गरेका थिए।
बैठकपछि नेता सिटौलाले देश र लोकतन्त्र कमजोर भएको भन्दै यस्तो अवस्थामा कांग्रेस एकजुट भएर उभिनुपर्ने आवश्यकता औंल्याए। उनले पार्टीलाई कमजोर बनाउने षड्यन्त्र लोकतन्त्र र देश दुवैका लागि हानिकारक हुने चेतावनी दिए।
सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाको स्वास्थ्य सुधार भएलगत्तै केन्द्रीय समिति बैठक बोलाई एकीकृत रूपमा अगाडिको बाटो तय गर्नुपर्ने बताए। उनले राष्ट्रिय संकटको समाधान कांग्रेसकै नेतृत्वमा खोजिनुपर्ने भन्दै लोकतान्त्रिक पार्टीलाई एक ढिक्का राख्न सबैलाई आग्रह गरे।
कांग्रेस नेताहरूले हाल देशका सबै अंग कमजोर अवस्थामा पुगेको र लोकतन्त्रको भविष्यबारे प्रश्न उठ्न थालेको भन्दै पार्टीभित्र एकता कायम गरी संकट समाधानमा नेतृत्व लिनुपर्ने धारणा व्यक्त गरेका छन्।
प्रतिक्रिया