Logo

अर्थ

लगानीमैत्री वातावरण बिग्रन नदिऔंः अध्यक्ष ढकाल



काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा एनसेल, चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्समा भएको आगजनी तथा तोडफोडको शनिबार स्थलगत निरीक्षण गर्दै अध्यक्ष ढकालले यस्ता घटनाले लगानीको वातावरणमा दीर्घकालीन असर पार्ने बताएका हुन् । “नेपालमा लगानीको वातावरण बिग्रने अवस्था आएको छ । यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ । सरकार, राजनीतिक दल र सरोकारवालाले लगानीमैत्री वातावरण कायम गर्नुपर्छ,” उनले भने ।

उनले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यावसायिक सम्पत्तिमाथि आक्रमण भएको, जसले दैनिक उत्पादन र रोजगारीमा प्रत्यक्ष असर पारेको बताए ।

अध्यक्ष ढकालका अनुसार, नेपालमा वैदेशिक तथा आन्तरिक लगानी प्रर्वद्धन गर्न महासंघले निरन्तर पहल गर्दै आएको भए पनि यस्ता घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश जाने अवस्था बनेको छ ।

महासंघका अनुसार, नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशतभन्दा बढी छ । यस्तो अवस्थामा लगानीको संरक्षणका लागि उद्योगी व्यवसायीहरूको शान्ति र सुरक्षाको प्रत्याभूति अनिवार्य रहेको महासंघले जनाएको छ ।

यसअघि महासंघले अर्थमन्त्री र गृहमन्त्रीसँग भेट गरी आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिको उचित छानबिन, दोषीमाथि कानूनी कारबाही र लगानीमैत्री वातावरण सुनिश्चित गर्न आग्रह गरिसकेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १० : ०७ बजे