चितवन — लगातार पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड ३६ घण्टादेखि अवरुद्ध भएको छ। शुक्रबार (असोज ३) साँझ करिब साढे ६ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै सडकमा पहिरो खस्दा आवागमन रोकिएको हो।
सडक डिभिजन भरतपुरका अनुसार ढुंगा र माटो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने कार्य अवरुद्ध भएको छ। राति काम रोक्ने र बिहानदेखि मेसिन परिचालन गरी पन्छाउने प्रयास जारी राखिएको भए पनि अहिलेसम्म बाटो खुल्न सकेको छैन।
डिभिजनका सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार ढुंगा खस्ने क्रम रोकिएमा आइतबार बिहान १०/११ बजेसम्म बाटो खुल्ने अनुमान गरिएको छ।
सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन अड्किएका छन् भने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। वैकल्पिक मार्ग भए पनि ती साँघुरा र लामो भएकाले आवागमनमा कठिनाइ भएको छ।
मुग्लिन–नारायणगढ सडक काठमाडौंलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने मुख्य मार्ग हो। बर्खायाममा बारम्बार पहिरो खस्दा यस सडकखण्डमा यातायात अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ।
प्रतिक्रिया