Logo

मुख्य समाचार

अमेरिकी एच–१बी भिसामा नयाँ शुल्कले भारतको चिन्ता



काठमाडौं — अमेरिकाले दक्ष कामदार भिसा (एच–१बी) आवेदनका लागि नयाँ १ लाख डलर शुल्क तोकेपछि भारतले यसले ‘जटिल मानवीय परिणाम’ ल्याउने चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार जारी गरेको कार्यकारी आदेशअनुसार एच–१बी आवेदन शुल्क हालको भन्दा ६० गुणाभन्दा बढी हुनेछ। यो शुल्क सेप्टेम्बर २१ देखि लागू हुने छ।

एच–१बी भिसाको करिब ७० प्रतिशत भारतीय कामदारले पाउने भएकाले भारतको चासो बढेको हो। केही अमेरिकी प्रविधि कम्पनीहरूले आफ्ना भिसा भएका कर्मचारीलाई अमेरिकामै बस्न वा विदेशमा भए तत्काल फर्किन सल्लाह दिएका छन्।

शनिबार ह्वाइट हाउसले नयाँ शुल्क हाल जारी भिसा वा नवीकरण आवेदनमा लागू नहुने स्पष्ट पारेको छ। तर भारतको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै परिवारमा उत्पन्न हुन सक्ने व्यवधानका कारण गम्भीर मानवीय परिणाम आउने चेतावनी दिएको छ। भारतले अमेरिकी अधिकारीहरूले यी व्यवधानलाई उपयुक्त रूपमा सम्बोधन गर्ने अपेक्षा गरेको छ।

भारतले विज्ञप्तिमा दक्ष कामदारको आदानप्रदान दुवै देशका लागि योगदानकारी भएको उल्लेख गर्दै नीति निर्माताहरूले आपसी लाभ र बलियो जनसम्बन्धलाई ध्यानमा राखेर निर्णय मूल्यांकन गर्न आग्रह गरेको छ। सम्भावित सरकारी प्रतिक्रियाबारे भने विवरण दिइएको छैन।

हालै अमेरिकाले रुसी तेल खरिदका कारण भारतमाथि दण्डनात्मक शुल्क लगाएपछि दुई देशबीच व्यापार वार्ता तनावपूर्ण बनेको छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका अनुसार, सन् २०२४ मा अमेरिकाले भारतमा ४१.५ अर्ब डलरबराबरको सामान निर्यात गरेको र भारतबाट ८७.३ अर्ब डलरबराबरको सामान आयात गरेको छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ११ बजे