Logo

मुख्य समाचार

कोरला भन्सारबाट दुई दिनमै २९ करोड राजस्व


३ आश्विन २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । मुस्ताङको कोरला भन्सार कार्यालयबाट सञ्चालनको दुई दिनमै २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार बुधबार र बिहीबार गरी दुई दिनमा मात्रै २९ करोड रुपैयाँ राजस्व उठेको हो। नेपाल भन्सार स्वचालन प्रणाली (आशिकुडा) लागू भएपछि असोज १ गतेदेखि यो भन्सार व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।

कोरला भन्सारबाट हालसम्म २२२ वटा इलेक्टिक भेइकल (ईभी) मध्ये १५९ वटा जाँच पास भई भन्सार भित्रिएका छन्। त्यस्तै ९६ मालवाहक गाडीमध्ये ५५ वटा जाँच पास भई राजस्व तिरेर छुटेका छन्।

रसुवा र तातोपानी भन्सार बाढीपहिरोका कारण अवरुद्ध भएपछि चीनतर्फबाट नेपाल भित्रिने सामानका लागि यो नाका प्रयोगमा ल्याइएको हो। दसैँ नजिकिँदै गएकाले पनि व्यापारीहरूले कोरला भन्सारमार्फत सामान आयात बढाएका छन्।

अत्यधिक चिसो मौसम र आधारभूत सुविधाको अभावका कारण दीर्घकालीन सञ्चालनमा चुनौती हुने भन्सार कार्यालयले जनाएको छ। चीनतर्फका व्यापारीले सामान भन्सारसम्म ल्याइदिए वर्षभरि सञ्चालन सम्भव हुने भए पनि तातोपानी र रसुवा खुलेपछि हालजस्तो चाप नहुने अनुमान गरिएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : ४२ बजे