काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले विद्युतको बजार नदेखिएको भन्दै उत्पादन रोक्नु दीर्घकालीन रुपमा घातक हुने चेतावनी दिएका छन् ।
बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले नवनियुक्त मन्त्री घिसिङलाई बधाई ज्ञापन गर्दै मागपत्र बुझाएको कार्यक्रममा उनले आगामी १० वर्षमा देशलाई ठूलो मात्रामा बिजुली आवश्यक पर्ने भएकाले उत्पादन रोक्नु नहुने बताए ।
मन्त्री घिसिङले “देशलाई अझै २०/३० हजार मेगावाट बिजुली चाहिन्छ, निजी क्षेत्रले लगानी गरे सरकारले थप लगानी गर्नुपर्दैन । बजार सिर्जना गर्न सकिन्छ, अहिले उत्पादन रोकियो भने १० वर्षपछि समस्या गहिरिन्छ,” भने ।
इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका लगानीकर्ताको मनोबल उच्च बनाउन विद्युत खरिद सम्झौता (पीपीए) तत्काल अघि बढाउन आग्रह गरेका थिए ।
जवाफमा मन्त्री घिसिङले निजी क्षेत्रलाई अझ बढी लगानीका लागि प्रोत्साहन गर्ने र आवश्यक परे नियमावली, निर्देशिका वा ऐन संशोधनसम्म गर्न तयार रहेको बताए । उनले वन क्षेत्रका कारण ऊर्जा र पूर्वाधारमा देखिएका अवरोध समाधानका लागि प्रधानमन्त्रीसँग सल्लाह गरी कानुनी सुधार अघि बढाउने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा इप्पानले ऊर्जा मन्त्रालय, विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणमार्फत गर्नुपर्ने कामबारे विस्तृत मागपत्र बुझाएको थियो । त्यसमा विद्युत खपत वृद्धिको योजना, प्रसारण लाइनमा निजी क्षेत्रको सहभागिता, जलविद्युत कम्पनीका सेयर निष्काशनको बाटो खुलाउने, अनुमतिपत्रको अवधि ५० वर्ष पुर्याउने, आरसीओडी म्याद थप गर्ने, साना आयोजनाको पीपीए तत्काल अघि बढाउने र हाइड्रोलोजी पेनाल्टी तथा कन्टिन्जेन्सी व्यवस्था खारेज गर्ने जस्ता माग समेटिएका थिए ।
मन्त्री घिसिङले पीपीए, आरसीओडी म्याद थप र अन्य विवादास्पद विषयबारे सरकार अवगत रहेको र समाधानका लागि पहल थालिने स्पष्ट पारे ।
प्रतिक्रिया