Logo

अर्थ

स्वदेशी लगानी रोक्ने सके अर्थतन्त्र गतिशील हुन समय लाग्दैन : गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्थतन्त्रलाई गतिशील बनाउन स्वदेशी लगानीलाई यहिँ रोक्नु पर्ने बताएका छन् ।

उनले स्वदेशमा लगानीको वातावरण निर्माण गरी विदेशी लगानी आकर्षित गर्ने विषयलाई प्राथमिकतामा राख्नु पर्ने बताएका हुन ।
सुरुमा स्वदेशको लगानीलाई यहीँ रोक्ने वातावरण बनाउन सकियो भने अर्थतन्त्र गतिशील हुन लामो समय नलाग्ने पौडेलको भनाइ छ । पौडेलले अर्थतन्त्रको विकासमा लागि कानुनी स्पष्टता जरुरी रहेको समेत बताएका छन् ।
बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उनले कतिपय अवस्थामा कानुनी स्पष्टता नहुँदा काम गर्न समस्या भएकाले कानुनको भाव अनुसारको स्पष्टता हुनु जरुरी भएको उल्लेख गरे ।
जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुन:निर्माणका लागि स्रोतको अभाव नहुने समेत उनले उल्लेख गरे ।
‘पुन:निर्माणका लागि ठूलो स्रोत आवश्यक छ, यद्यपि त्योभन्दा महत्वपूर्ण विषय सुशासन र प्रशासनिक कार्यक्षमतामा सुधार हो,’ उनले भने ।
प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि पनि आक्रमण हुनुले व्यवसायीमा चिन्ता थपिए पनि अब निजी क्षेत्रको मनोबल उच्च बनाउँदै अगाडि बढ्नुको विकल्प नभएको उनले बताए ।

उनले अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण, निजी क्षेत्रको मनोबलमा अभिवृद्धि आवश्यक भएको समेत उल्लेख गरे । साथै व्यवसायी जोगाउनका लागि अर्थतन्त्रको प्रणालीमै सुधार जरुरी रहेको बताए ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  २ : १२ बजे