काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई उच्च मनोबलका साथ जनहितमा काम गर्न निर्देशन दिएका छन्।
आज प्रहरी प्रधान कार्यालय पुगेका मन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको विवरण लिए। उनले आन्दोलनका कारण क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र कर्मचारीको मनोबल उच्च राख्न समुदायले देखाएको सहयोग महत्त्वपूर्ण भएको उल्लेख गर्दै प्रहरीलाई राष्ट्र र जनताको हितमा समर्पित हुन आह्वान गरे।
मन्त्री अर्यालले प्रहरी संगठनका कमीकमजोरी सुधार गर्दै कानुनबमोजिम कर्तव्यनिष्ठ र संयमित भएर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। “सरकार उच्च मनोबलयुक्त प्रहरी कर्मचारीको पक्षमा छ,” उनले भने।
यसअघि उनले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, प्रहरी वृत्त दरबारमार्ग र प्रहरी वृत्त महाराजगञ्जको क्षतिको स्थलगत अनुगमन गरेका थिए। कार्यक्रममा सातै प्रदेशका प्रहरी प्रमुख, जिल्ला तथा इलाका प्रहरी प्रमुखलगायतको भर्चुअल उपस्थिती थियो।
प्रतिक्रिया