काठमाडौं । गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर राष्ट्रिय शोक दिवस मनाइएको छ ।
नेपाल सरकारद्वारा घोषित राष्ट्रिय शोक दिवसको अवसरमा Gen–Z Movement Allianceले राजधानीको खुल्ला मञ्चमा दीप प्रज्वलन तथा मौनसभा कार्यक्रम गरेको छ ।
कार्यक्रममार्फत आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
Gen–Z Movement ले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘शहीदको रगतको जगमा उभिएको हाम्रो राष्ट्र सदैव शहीदहरू प्रति अनुगृहित रहनेछ । हामी हाम्रा प्रिय सहयोद्धाहरूलाई सदा सम्झिरहनेछौँ । शहीदका सपना पुरा गर्नु नै अबको हाम्रो सामाजिक–राजनीतिक दायित्व हो । अझै धेरै गर्न बाँकी छ ।’
संगठनले आन्दोलनका क्रममा भएको राज्य दमन विरुद्ध देशैभरि भएका प्रतिरोधजन्य घटनाहरूको जिम्मेवारी लिन अन्तरिम सरकारलाई आग्रह गर्दै, जेनजी आन्दोलन र राज्यबीच स्पष्ट राजनीतिक सहमति आवश्यक रहेको उल्लेख गरेको छ ।
यसैगरी, सरकारले घोषणा गरिसकेको जेनजी क्रान्ति मेमोरियल पार्कलाई काठमाडौंको खुल्ला मञ्चमा यथाशीघ्र निर्माण गरिनुपर्ने माग पनि दोहोर्याइएको छ । साथै, शहीद परिवार तथा आन्दोलनका क्रममा घाइते भएकाहरूको माग तत्काल सम्बोधन गर्न समेत Gen–Z Movement ले आग्रह गरेको छ ।
‘महान् शहीदहरू अमर रहुन्’ भन्ने नारा लगाउँदै शान्तिपूर्ण तर भावनात्मक वातावरणमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
प्रतिक्रिया