काठमाडौं । नेपालमा निजी क्षेत्रबाट मोबाइल सेवा सुरु गर्ने पहिलो कम्पनी एनसेल २० वर्ष पूरा भएको छ । सन् २००४ मा ‘मेरो मोबाइल’का रूपमा स्थापना भई सन् २००५ देखि सेवा सञ्चालनमा आएको एनसेल अहिले करिब १ करोड ४० लाखभन्दा बढी उपभोक्तालाई दूरसञ्चार सेवा दिइरहेको छ ।
एनसेलका अनुसार कम्पनीले जीएसएम, एज, थ्रिजी, फोरजी लगायत प्रविधिबाट देशभर सेवा विस्तार गर्दै करिब ९५ प्रतिशत फोरजी कभरेज कायम गरेको छ । स्थापना यताकै अवधिमा एनसेलले नेपाल सरकारलाई ३ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी कर तथा शुल्क बुझाएको दाबी गरेको छ । साथै, कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत २ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खर्च गरेको बताएको छ ।
तर पछिल्ला वर्षहरूमा नेपालमा टेलिकम क्षेत्रको आम्दानी घट्दो क्रममा छ । एनसेलका अनुसार माग बढे पनि प्रतिस्पर्धा र सरकारी कर/शुल्कका कारण आम्दानी घटेको छ । फाइभजी प्रविधिमा लगानी गर्न करिब ६० अर्ब रुपैयाँ चाहिने भए पनि अहिलेको वित्तीय अवस्थाले चुनौती बढाएको कम्पनीले जनाएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा एनसेलको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी भएको छ । कम्पनीका केही तला पूर्णरूपमा क्षतिग्रस्त भएका र सवारीसाधन जलेको एनसेलले जनाएको छ । यस्तो आक्रमणले वैदेशिक लगानीमा नकारात्मक प्रभाव पार्ने कम्पनीको भनाइ छ ।
एनसेलले हालसम्म टेलियासोनेरा, आजियाटा लगायत बहुराष्ट्रिय लगानीकर्ताबाट लगानी पाएको थियो भने हाल स्पेक्ट्रलाइट युके लिमिटेडसँगको संयुक्त लगानीमा सञ्चालित छ । कम्पनीका अनुसार आगामी पाँच वर्षमा टेलिकम कम्पनीहरूको आम्दानी १६ अर्ब रुपैयाँसम्म घट्ने अनुमान छ ।
प्रतिक्रिया