Logo

मुख्य समाचार

माधवकुमार नेपालको एमाले नेताका निवास तथा क्षतिग्रस्त स्थल निरीक्षण



काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘जेनजी’को प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका पार्टी कार्यालय, सञ्चारगृह तथा एमाले नेताहरूका निवास सोमबार निरीक्षण गरेका छन्।

नेपालले पहिलोपटक भदौ २४ गतेको घटनापछि आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका थिए। त्यसपछि उनले एमाले महासचिव शंकर पोखरेलको निवास पुगेका थिए, जहाँ पोखरेलकी पत्नी सुजिता शाक्यसँग संवाद गरेका थिए। उनले त्यसपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेको काठमाडौंस्थित निवास, निवर्तमान शिक्षामन्त्री रघुजी पन्तको घर र नेता अग्नि खरेललाई पनि भेट गरेका थिए।

सोही क्रममा उनले आफ्ना भाइहरूको निवास, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, राजेन्द्र पाण्डे, प्रेम आलेलगायत नेताका क्षतिग्रस्त घर र तीनकुनेस्थित कान्तिपुर टेलिभिजन कार्यालयको समेत अवलोकन गरेका थिए।

अध्यक्ष नेपालले सबै ठाउँमा एउटै प्रकृतिको तोडफोड र आगजनी भएको बताउँदै कारबाही आवश्यक भएको धारणा राखेका छन्। “एउटै प्रकृतिको घटना रहेछ, कारबाही हुनुपर्छ भन्ने कुरा उहाँले भन्नुभयो,” नेता सुदेश पराजुलीले जानकारी दिए।

भदौ २४ गतेको घटनापछि सार्वजनिक रूपमा नदेखिएका नेपाल सोमबार मात्र बाहिरिएका हुन्। उनी हाल आफन्तको घरमा बसिरहेका छन्। वामपन्थी शक्तिलाई एकताबद्ध गर्नुपर्ने पक्षमा रहेका अध्यक्ष नेपाल यसबारे संवादमा रहेको नेता पराजुलीले बताएका छन्।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  २ : ०४ बजे