Logo

मुख्य समाचार

गगन थापाको प्रस्ताव : निष्पक्ष निर्वाचन र संविधानको रक्षा मुख्य दायित्व



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निष्पक्ष निर्वाचन र संविधानको रक्षा कांग्रेसको मुख्य जिम्मेवारी रहेको बताएका छन्। उनले अन्तरिम सरकार गठनपछि प्रतिनिधिसभा विघटन र तोकिएको समयमा निर्वाचन हुन नसक्दा उत्पन्न हुने अवस्था राजनीतिक मात्र नभई संवैधानिक समस्या पनि भएको स्पष्ट पारे।

थापाले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आन्दोलनमा सहभागिता जनाएका युवाहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार तोकिएको समयमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कांग्रेसले सरकारलाई सहयोग गर्ने र विचलित भए खबरदारी गर्नेछ।

उनले प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार कायम भएकाले लोकतान्त्रिक संस्थाको रक्षा गर्न कांग्रेस सचेत रहनुपर्ने बताए। भदौ २३ गते भएको सरकारी दमनलाई उनले अक्षम्य ठहर गर्दै दोषीलाई कारबाही गर्न निरन्तर दबाब दिने प्रतिबद्धता जनाए।

थापाले प्रदेश र स्थानीय तहमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तत्काल थाल्नुपर्नेमा जोड दिँदै नागरिक सेवाप्रवाहमा कमी नआओस् भनेर स्थानीय सरकार, समुदाय र नागरिक समाजसँग सहकार्य गर्न आग्रह गरे।

पार्टीभित्र आमूल सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले आवश्यक परे पदीय जिम्मेवारी त्याग्न पनि तयार रहेको स्पष्ट पारे। “पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो,” उनले भने, “म सहर्ष महामन्त्री पद छोड्न तयार छु।”

थापाले आन्दोलनका क्रममा मारिएका युवाको बलिदान खेर जान नदिने संकल्प व्यक्त गर्दै जलेका संरचनाको पुनर्निर्माण सम्भव भए पनि गुमेको जीवन फर्किन नसक्ने भएकाले भ्रष्टाचारमुक्त, स्वच्छ र जनमुखी राजनीति निर्माण नै कांग्रेसको लक्ष्य हुने बताए।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १ : ३१ बजे