Logo

समाचार

सरकारले असोज १ मा शोक बिदा दिने निर्णय



काठमाडौं – सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

सरकारले आन्दोलनको क्रममा ज्यान गुमाउने व्यक्तिहरूलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र अन्य खर्चका लागि ५ लाख रुपैयाँ, कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने भएको छ।

त्यस्तै, घाइतेहरूको निःशुल्क उपचार, दुर्गम क्षेत्रमा शव लैजान निःशुल्क हेलिकोप्टर वा सवारीसाधन उपलब्ध गराउने, र दाहसंस्कारमा सहुलियत प्रदान गर्ने निर्णय पनि भएको मन्त्री अर्यालले बताए।

सरकारले आन्दोलनमा भएको जनधनको क्षति र ज्यादतीको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग (न्यायिक जाँचबुझ आयोग) गठन गर्ने निर्णय गरेको छ।

अन्त्यमा, आन्दोलनमा निधन भएकाहरूको स्मरणार्थ जेनजी जागरण स्मरण पार्क निर्माण गर्ने पनि निर्णय भएको छ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रस्ताव भएका सबै मुद्दाहरू फिर्ता गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ८ : २३ बजे