पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा दुई वडा संयोजकलाई निलम्बन गरेको छ। पार्टीले पोखरा महानगरपालिका–१० का संयोजक चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का संयोजक भोजराज पौडेललाई अर्को निर्णय नहुन्जेलसम्मका लागि पार्टीको सबै जिम्मेवारीबाट हटाएको हो।
भदौ २३ र २४ गते पोखरामा भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी मिलाएर ८० भन्दा बढी संरचना क्षतिग्रस्त भएका थिए। थापा पोखरा महानगरपालिकाको कार्यालय र मेयर धनराज आचार्यको घरमा आगजनीमा संलग्न भएको सामाजिक सञ्जालमा देखिएको र पौडेल पनि तोडफोडमा संलग्न भएको आरोप छ।
रास्वपाको गण्डकी प्रदेश अनुशासन आयोगका प्रमुख योगेन्द्र केसीद्वारा जारी विज्ञप्तिमा पार्टीको आचारसंहिताभन्दा बाहिर गएर अवाञ्छित क्रियाकलापमा सहभागी भएकाले उनीहरूलाई निलम्बन गरिएको उल्लेख छ।
प्रतिक्रिया