Logo

समाचार

जेन–जी आन्दोलनः २८ जनाको पोष्टमार्टम सकियो, सात जलेका शवको पहिचान बाँकी



काठमाडौं – जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका २८ जनाको पोष्टमार्टम सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका फोरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पतालमा रहेका ४६ शवमध्ये २८ जनाको पोष्टमार्टम सकिएको हो ।

उनका अनुसार जलेको अवस्थामा रहेका सात शवको पहिचान अझै हुन बाँकी छ । “पोष्टमार्टमसँगै परिवारलाई शव बुझाउने प्रक्रिया चलिरहेको छ,” डा. चौधरीले बताए । उनले जलेको कार्यालयबाट पत्र आएपछि पहिचान गर्न सहज हुने बताए ।

प्रदर्शनमा घाइते भई उपचारका क्रममा मृत्यु भएका व्यक्तिहरूको शव विभिन्न अस्पतालबाट पोष्टमार्टमका लागि टिचिङमा ल्याउने काम जारी छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार भदौ २३ र २४ गतेको हिंसात्मक आन्दोलनका कारण देशभर हालसम्म ७२ जनाको मृत्यु भएको छ । देशभर तोडफोड, लुटपाट र आगजनीबाट भएको क्षतिको विवरण संकलन कार्य पनि सुरु गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  २ : १९ बजे