Logo

समाचार

संसद् भवन लुटपाट प्रकरण: सचिवालयले मालसामान फिर्ता गर्न सार्वजनिक अपिल



काठमाडौं — नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जेनजी युवाको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडपछि संसद् सचिवालयले लुटिएका सामग्री फिर्ता गराउन सार्वजनिक अपिल गरेको छ।

सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले आइतबार सूचना प्रकाशित गर्दै घटनामा संलग्न वा जानकारी भएका व्यक्तिहरूलाई आवश्यक सूचना दिन आग्रह गरेको हो।

“प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामग्रीहरू अनधिकृत रूपमा लगिएको बुझिएको छ,” सूचनामा उल्लेख गरिएको छ।

सचिवालयले यस्ता सामग्री रहेको स्थान वा त्यसलाई लगेका व्यक्तिबारे जानकारी भएमा सम्बन्धित पक्षले संसद सचिवालयलाई जानकारी गराउन पनि अनुरोध गरेको छ। साथै, घटनासँग सम्बन्धित भिडिओ वा प्रमाण उपलब्ध गराउन समेत भनिएको छ।

सचिवालयले सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने स्पष्ट पारेको छ।

यही भदौ २४ गते जेनजी युवाको आह्वानमा भएको प्रदर्शनका क्रममा संसद भवन र त्यसको परिसरमा रहेका सरकारी सवारीसाधनमा आगजनी र तोडफोड गरिएको थियो। सो क्रममा संसदभित्रैबाट सामग्री लुटिएको घटनालाई लिएर सुरक्षा संयन्त्रको भूमिकामाथि समेत प्रश्न उठेको छ।

सरकारले घटनाको छानबिन गर्ने भनिए पनि हालसम्म स्पष्ट नतिजा सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ११ : ४१ बजे