Logo

समाचार

लुटपाट, मारपिट र ध्वंश गरेर नेपालले जित्दैन्, हार्छ मात्र : कृष्ण सिटौला



यतिबेला शान्ति कायम गर्नका लगि प्रथम प्रयास गर्नुपर्छ । सबैभन्दा मूलकुरा मानिसको बाँच्न पाउने अधिकार हो । एक नेपालीले अर्को नेपालीलाई लुटपाट र मारपिट गरेर, सार्वजनिक वा नीजि सम्पत्ति आगजनी गरेर, ध्वस्त गरेर नेपालले जित्दैन, हार्ने मात्र हो ।

कृष्णप्रसाद सिटौला – नेता–नेपाली कांग्रेस

‘हालको घट्नाले मानिसको मनमा हिंसा प्रवेश गरेको छ, त्रास पैदा भएको छ’

यतिबेला नेपाली कांग्रेसभित्र बृहत एकता आवश्यक देखिएको छ ः

फागुन २१ मा निर्वाचनको संभावना देखेको छैन् ः

गत सोमबार र मंगलबार युवा पुस्ता (जेन–जी)को आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भयो । सरकारी तथा नीजि संरचनाहरुमा आगजनी गरियो । विभिन्न राजनीतिक दलका नेताहरुको निजी घर र नेताहरु भौतिक आक्रमणमा परे । दर्जनौं नेताहरुको घरमा आगजनी र तोडफोड मात्र गरिएन विस्तापित नै हुन पुगे । अवस्था सामान्य हुँदैगएपनि कांग्रेस, एमाले, माओवादी केन्द्रका नेताहरु अझै सुरक्षाकर्मीको निगरानीमा छन् । सामाजिक संजालमार्फत बाहेक मिडियामार्फत सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहेका छैनन् । काठमाडौंमा रहेका आफ्नो घरमा आगजनी भएपछि पूर्वमन्त्री एवम नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला अन्यन्त्रै बस्दै आइरहेका छन् । यसै सिलसिलामा नेपाल न्यूज बैंकले नेपालको पछिल्लो घटनाक्रमबारे उनीसँग छोटो संवाद गरेको छ ।

देशमा हालको परिस्थिति कसरी सिर्जना भयो र घट्नालाई कुन रुपमा हेर्नुहुन्छ ?

कसरी सिर्जना भयो भन्ने कुरा त घट्ना घटाउनेलाई थाहा होला । तर मेरो विचारमा यो दुःखद् घटना हो । जेनजी पुस्ताका भाइबहिनीहरुले जुन माग राखेर प्रदर्शन गरे त्यसमा घुसपैठ भयो । र त्यसलाई हिंसामा मोड्ने काम भयो । प्रहरीको गोली चल्यो, धेरैको मृत्यु भयो, धेरै जना घाइते भए । त्यसैले पहिलो दिन सिंगो नेपालका लागि दुःखद् घटना भयो । दोस्रो दिन, जसरी सिंहदरबादेखि देशभर लुटपाट भएको छ, मेरो पार्टीका सभापति शेरबहादुर देउवाको घरदेखि मेरो साथै देशभरका पार्टीका साथीहरुको घरमा आगजनी र लुटपाट भएको छ । सरकारी कार्यालय र नीजि क्षेत्रका औद्योगिक वा व्यापारिक केन्द्रहरुमा धेरै ठूलो आगजनी र लुटपाट भएको छ । देशलाई अत्यन्तै ठूलो क्षति भएको र त्रासदिपूर्ण घट्ना भएको छ । अब म यसको पृष्ठभूमीतिर म जान चाहन्न ।

तर यति आग्रह गर्न उपयुक्त हुन्छ भन्ने लाग्छ त्यो भनेको शान्ति कायम गर्नका लगि प्रथम प्रयास गर्नुपर्छ । सबैभन्दा मूलकुरा मानिसको बाँच्न पाउने अधिकार हो । एक नेपालीले अर्को नेपालीलाई लुटपाट र मारपिट गरेर, सार्वजनिक वा नीजि सम्पत्ति आगजनी गरेर, ध्वस्त गरेर नेपालले जित्दैन, हार्ने मात्र हो । नेपाल र नेपाली जनताको जुन रुपमा क्षति भएको छ त्यसलाई मूल्यांकन गरेर अब पुनः शान्ति कायम गर्दै पुनःनिर्माण गर्न एकजुट हुनुपर्छ भन्ने ठान्दछु । ति दिनका घट्नालाई विश्लेषण गर्दा म यत्तिनै भन्न चाहन्छु । र जेनजी पुस्ताका साथीहरुले शुसासन र सकारात्मक माग राखेर सडकमा आएपनि हिंसात्मक रुप दिने काम भएको छ, यो दुःखद् घटना हो । पुनः यस्ता घट्नाहरु नदोहोरियोस । सबैभन्दा दुःखको कुरा भनेको सबै मानिसको मनमा हिंसा प्रवेश भएको छ, त्रास पैदा भएको छ । सबै तर्सिएका छन् र सिंगो नेपाल तर्सिएको छ । यस्तो अवस्थामा सबै नेपालीको मनमा प्रवेश गरेको हिंसा र भय हटाउनका लागि निकै ठूलो प्रयासहरु चाहिन्छ । त्यसका लागि हामी सबै एकताबद्ध हुन आवश्यक छ ।

संसद विघटनसम्मको जुन कार्य भएको छ त्यो संविधान विपरित छ । यसलाई संविधान सम्मत किमार्थ मान्न सकिदैन् । यस बारेमा पार्टीको धारणा सार्वजनिक भइसकेको छ । र प्रतिनिधि सभामा चिफविफहरुले पनि वक्तब्य निकालिसकेका छन् । अब गैरसंवैधानिक निर्णयका विरुद्धमा सर्वोच्च अदालत जानेदेखि विभिन्न गतिविधि हुनसक्छन् । तर ति सबै शान्तिपूर्ण र रचनात्मक हुनेछन् । हामीले देशको भविष्यलाई र लोकतन्त्रको भविष्यलाई सोचेर त्यस्ता गतिविधिहरु हुनसक्छन् । यसमा पार्टी र पार्टीहरुबीच छलफल गर्नुपर्नेछ । अहिले नेताहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्ने अवस्था बनिसकेको छैन् । पार्टी सभापति शेरबहादुर देउवा सैनिक व्यारेकमै हुनुहुन्छ, घरमा फर्किने अवस्था बनेको छैन् । उहाँमाथि जुन प्रकारको हिंसात्मक आक्रमण भयो जति निन्दा गरेपनि पुग्दैन् । यस्ता घटना नहुनु भन्ने कामना गर्नुपर्छ ।

तर राष्ट्रपतिले आन्दोलनको म्यान्डेट र आवश्यक्ताको सिद्धान्तका आधारमा कदम चालिएको भन्नुभएको छ नि ?

संविधानले यस्तो प्रकारको निर्णय गर्ने अधिकार दिएको छैन् । यसमा यत्तिनै भनौं होला । तर राष्ट्रपतिमाथि पनि ठूलो दबाब परेको होला, त्यो दबाबलाई सहेर जेजति गर्नसक्नु हुन्छ त्यही गर्नुभयो होला । तर यसबारे छलफल गर्नुपर्ने छ । र यो कदम गैरसंवैधानिक हो, यसमा स्पष्ट हुनुपर्छ । राष्ट्रपतिले कुन परिस्थितिमा निर्णय गर्नुभयो त्यो समय अनुसार मूल्याकंन गर्दै जानुपर्छ ।

सामान्यत नयाँ सरकार बनेपछि अन्तर्राष्ट्रिय स्तर वा विभिन्न देशका प्रमुखहरुले शुभकामना र बधाई दिने चलन छ । तर यस पटक दलाइ लामाको पनि बधाई आएको छ, यसलाई अनेक कोणबाट विश्लेषण भइरहेको छ । तपाईले कुन रुपमा हेर्नुभएको छ ?

यो मलाई पनि अनौठो लागेको छ । यो भन्दा अगाडि यस्तो स्वागत र बधाई दिएको थाहा छैन् । नयाँ प्रधानमन्त्री बनेपछि मित्रराष्ट्रहरुबाट बधाई एवम शुभकामना आउने प्रचलन छ । तर दलाई लामाको किन आयो भन्नेबारे मैंलेपनि केही भन्न सकिन् ।

जेनजी पुस्ताले दुई दिन आन्दोलन गरे, विशेषगरी दोस्रो दिनको आन्दोलन हिंसात्मक र विध्वंशकारी भयो । यस्तो हुनुमा नेपाली सेनाको भूमिकामाथि प्रश्नहरु उठिरहेका छन् नि ?

सुरक्षा निकायहरु दोस्रो दिनबाट पछि हटेको देखिन्छ । अब सेनाले सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयलगायतलाई सुरक्षा दिन नसक्नुकाबारेमा धेरै टिप्पणी गर्न चाहन्छ । तर यत्ति भन्न चाहन्छु अब सबै सुरक्षा निकायहरुले जिम्मेवार रुपमा काम गर्न सक्नुपर्छ । शान्ति कायम गर्न सकुन् ।

राष्ट्रपतिले आगामी फागुन २१ लाई निर्वाचनको मिति तोक्नुभएको छ । यो संभव छ ?

निर्वाचन भइदिए त राम्रो हो तर मैंले संभावना देखिरहेको छैन् । अब परिस्थिति कसरी विकास हुन्छ त्यही आधारमा मूल्यांकन पनि गरौंला । झट्ट अहिले हेर्दा कसरी संभव होला र जस्तो लाग्छ । हेरौं अब राष्ट्रपतिले के सोचेर निर्वाचनको म्यान्डेट दिनुभएको छ र प्रधानमन्त्री सुशीला कार्कीजीले कसरी निर्वाचन गर्नसक्छु भनेर म्यान्डेट लिनुभएको छ त्यसको मूल्यांकन गरौंला । तर आजको दिनमा विश्लेषण गर्दा निर्वाचन हुने छाँट देखेको छैन् ।

अब नेपाली कांग्रेस कुन रुपले अघि बढ्छ ?

यतिबेला हामी आमनेसामने बसेर छलफल गर्न पाएका छैनौं । हिजोमात्र जुम बैठक बसेर राष्ट्रपतिको कदम वा संसद विघटनविरुद्ध एकताबद्ध भएका छौं । त्यसपछि पार्टीको बैठक बसेर थप निर्णय गर्नेछौं । यतिबेला देशभरका साथीहरु एवम पार्टीभित्र एकताबद्ध हुन जरुरी छ । पार्टीभित्र बृहत एकता आवश्यक देखिएको छ । देशभरका नेता साथीहरुलाई, भ्रातृ संगठन, शुभेच्छुक संस्थाहरुका साथीहरुलाई मेरो विनम्र अनुरोध के छ भने सबै सजग भएर एकताबद्ध हुनुहोस । यतिबेला हामी आक्रोशित भएर कहीं जाने अवस्था छैन् । र समाजमा शान्ति कायम राख्नका लागि भूमिका निर्वाह गर्न आग्रह गर्दछु । देश ठूलो हिंसामा फसेका बेलामा हामीले शान्तिमा रुपान्तरण गर्नेतर्फ लाग्नुपर्नेछ । बाँकी कुरा आगामी दिनमा पार्टीका बीचमा पनि छलफल गर्छौ, अन्य पार्टीहरुसँग पनि छलफल गर्नेछौं । परिस्थिति सहज भएपछि छलफल गरेर देशभरको क्षति विवरण संकलन गर्नेछौं । देश संकटग्रस्त अवस्था रहेकाले यसबाट मुक्त गराउनु दायित्ववोध गर्नुपर्ने छ । एकताबद्ध पार्टीले नै देखिएका चुनौतिहरुको सामना गर्न सक्दछ ।

आन्दोलनमा तपाईंको पार्टी नेपाली कांग्रेस साथै अन्य राजनीतिक दलमा आबद्ध जेनसी पुस्ताका साथीहरुपनि आबद्ध भएको देखिन्थ्यो । उनीहरुप्रति तपाईको भनाई के छ ?

जेनजी पुस्ताका साथीहरुलाई मेरो आग्रह के छ भने समाज निर्माण गर्ने अभियान शान्तिपूर्ण ढंगले अहिंसामा आधारित हुनुपर्छ । त्यसले ल्याएको परिवर्तन स्थायी र दिर्घकालिन हुन्छ । अहिले त हिंसाको लपेटामा परेर ठूलो क्षति भएको छ, सयौं खर्बौंको क्षति भएको छ । नेपालकै इतिहासमा अहिलेजस्तो क्षति भएकै थिएन् । धेरैबर्ष पछि नेपालको अर्थ व्यवस्था धकेलिएको छ । यति ज्यादा मानिसको मनमा त्रास प्रवेश गरेकै थिएन्, कलिला युवाहरुको मनमा हिंसा प्रवेश गरेकै थिएन् । अब यसको विकसित रुप अघि बढ्यो भने डरलाग्दो रुप लिन्छ । यसले समाजलाई ध्वंश बनाउँछ ।

राजनीतिक विचारधार, संगठन आफ्नो ठाउँमा छ, विश्वास र आस्था आफ्नो ठाउँमा छ । तर जुनसुकै अवस्थामा शान्तिपूर्ण अवस्थामा मानिस रहनुपर्छ । धैर्यता र संयमताका साथ जे कुरा सोचिन्छ त्यसबाट मात्र समाज निर्माण गर्न सकिन्छ । सकारात्मक सोच र विचारले मात्र समाज निर्माण गर्न सकिन्छ, बदलाको भावनाले समाज बन्दैन् । समन्वय, एकताको भावनाले, सबैले सबैलाई सहयोग गर्ने भावनाले मात्र समाज बनाउन सकिन्छ । त्यसैले जेनजी पुस्ताले भाइबहिनीहरु सकारात्मक, रचनात्मक बन्नुपर्छ । तपाईहरु सिर्जनात्मक बन्नुपर्छ, तपाईहरुलाई अग्रणी पुस्ताले भर गर्छ । राष्ट्रिय एकता निर्माण गर्नलाई सकारात्मक बन्नुपर्छ र संयमित बन्न आग्रह गर्न चाहन्छु ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ८ : ३० बजे