सिड्नी (अष्ट्रेलिया) — सहारा क्लब अष्ट्रेलियाले आयोजना गरेको सहारा कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट जोर्ज क्लबले जितेको छ। लिग कम नकआउट प्रणालीमा खेलाइएको फाइनलमा सेन्ट जोर्जले द राइजिङ गोर्खाज (टीआरजी) क्लबलाई १–० ले पराजित गर्दै रनिङ शिल्डसहित तीन हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गरेको हो।
दोस्रो हाफको सुरुवातमै सेन्ट जोर्जका शुसान्त कुवँरले निर्णायक गोल गर्दै क्लबलाई विजयी बनाए। उनले नै खेलको म्यान अफ द म्याच उपाधि प्राप्त गरे भने टीआरजीका प्रवेश रन्जित म्यान अफ द सिरिज घोषित भए।
फाइनलअगावै सहारा अष्ट्रेलियाका संस्थापक दिवंगत राजमान थकालीको स्मृतिमा आयोजित मैत्रीपूर्ण खेलमा सहारा अष्ट्रेलियाले नेप्लिज थन्डर्सलाई ३–२ ले पराजित गरेको थियो। सहाराका सुमितकाजी श्रेष्ठले एक र प्रनिशले दुई गोल गरे भने थन्डर्सका दिनेश अमात्य र विनम हाडाले एक–एक गोल गरे।
पुरस्कार वितरण समारोहमा एन्फा अष्ट्रेलियाका अध्यक्ष विजय राउत, पूर्वअध्यक्ष विजेन बटाजु, सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेल, एनआरएन अष्ट्रेलियाका सचिव कल्याण खड्का, शैक्षिक व्यवसायी राम श्रेष्ठ, तमु समाज अष्ट्रेलियाका अध्यक्ष हेउपती गुरुङ, सहाराका ईश्वर पहारी र एनआरएनका पूर्वअध्यक्ष नन्द गुरुङलगायतले विजेताहरूलाई ट्रफी, नगद र प्रमाणपत्र प्रदान गरेका थिए।
प्रतिक्रिया