काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोग अन्त्य गर्न आग्रह गरेकी छन्। राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बालबालिकाको क्षमता र सिर्जनशीलतालाई प्रोत्साहन गर्नु सबैको साझा कर्तव्य भएको बताइन्।
भण्डारीले बालबालिकालाई सभ्य र समुन्नत समाज तथा समृद्ध नेपालको आधारशिला बताउँदै उनीहरूलाई जिम्मेवार र अनुशासित नागरिक बनाउन शिक्षा र सकारात्मक वातावरण अत्यावश्यक रहेको उल्लेख गरिन्। उनले शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र प्रतिभा विकासमा गरिएको लगानी नै दिगो तथा सुनिश्चित भविष्यको बलियो जग बन्ने धारणा राखिन्।
चिनियाँ दार्शनिक कन्फ्युसिएसको भनाइ उद्धृत गर्दै भण्डारीले दीर्घकालीन योजनाका लागि बालबालिकालाई शिक्षित बनाउनुपर्नेमा जोड दिइन्। साथै उनले संविधानले सुनिश्चित गरेका बालअधिकारलाई व्यवहारमा कार्यान्वयन गर्दै ‘बालबालिकामा लगानी’ मार्फत समृद्ध नेपालको भविष्य निर्माण गर्ने अभियानलाई सबल र प्रभावकारी बनाउन शुभकामना व्यक्त गरिन्।
प्रतिक्रिया