Logo

मुख्य समाचार

बारबरा फाउन्डेसनले ‘हामी नेपाल’सँगको सम्बन्धबारे अफवाह विरुद्ध स्पष्टिकरण



काठमाडौं – बारबरा फाउन्डेसनले ‘जेनजी’ आन्दोलनको क्रममा आफ्नो नाम जोडेर भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ। आइतबार (भदौ २९) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनले हामी नेपाल नामक संस्था सँगको सम्बन्धबारे फैलिएको अफवाह ‘अनर्गल’ रहेको स्पष्ट पारेको हो।

फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले फाउन्डेसन र हामी नेपालबीच पछिल्लो एक वर्षदेखि कुनै पनि सहकार्य नभएको जानकारी दिँदै आन्दोलनका लागि आर्थिक सहयोग गरिएको भन्ने समाचारमा कुनै सत्यता नभएको बताए।

फाउन्डेसनले कोरोनाभाइरस महामारीको समयमा केही सहकार्य गरेको भए पनि त्यसपछि उक्त संस्था वा तिनका पदाधिकारीसँग कुनै आर्थिक सम्बन्ध नरहेको जनाएको छ।

पत्रकार सम्मेलनमा फाउन्डेसनले आफ्नो वित्तीय विवरण पनि सार्वजनिक गर्दै विगत आठ वर्षमा ब्याजसहित कुल करिब सात करोड ८२ लाख रुपैयाँ प्राप्त भएको र हाल करिब तीन करोड ९५ लाख रुपैयाँ बैंकमा मौज्दात रहेको जानकारी गराएको छ।

फाउन्डेसनले नागरिकलाई मूल मुद्दाबाट भट्काउने उद्देश्यले अफवाह फैलाउन नहुने र चरित्रहत्या नगर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  २ : ४५ बजे