काठमाडौं — ‘जेनजी’ आन्दोलनका क्रममा परराष्ट्र मन्त्रालयका २२ गाडीमा आगजनी तथा तोडफोड भएको छ। विशिष्ट व्यक्तिका लागि राखिएका नौ गाडी भने सुरक्षित रहेका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार क्षतिको विवरण संकलन जारी छ। प्रारम्भिक विवरणअनुसार जलेर पूर्ण रूपमा नष्ट भएका गाडी ६ वटा र सिसा तथा बडी क्षति पुगेका गाडी १६ वटा छन्।
सन् २०१६ मा कतारबाट नेपाललाई उपहारस्वरूप प्राप्त नौवटा ‘मर्सिडिज बेन्ज’ भीआईपी गाडी मन्त्रालय भवनको पछाडिपट्टि पार्किङ गरिएकाले सुरक्षित रहन पुगेका हुन्।
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा तोडफोड र आगजनी भएको थियो। परराष्ट्र मन्त्रालय अन्तर्गत पहिलेको सामान्य प्रशासन मन्त्रालय भवनमा रहेका छ महाशाखाका कागजात जलेका छन्। अर्थ मन्त्रालय आडमा रहेको परराष्ट्रको मुख्य भवनमा भने आगजनी नभए पनि प्रदर्शनकारीले सिसा तोडफोड र कागजात नष्ट गरेको मन्त्रालयले जनाएको छ।
प्रवक्ता क्षेत्रीले एक–दुई दिनभित्र पूर्ण क्षतिको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको बताए।
प्रतिक्रिया