Logo

समाचार

प्रधानमन्त्री कार्की : ‘प्लान वे’मा सम्पत्ति सखाप, अपराधीलाई नेपाली नागरिक कसरी मान्ने ?



काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले ‘प्लान वे’ नामक योजनाअन्तर्गत देशका अभिलेख र सम्पत्ति सखाप पारिएको बताएकी छन् । उनले त्यस्तो कार्यमा संलग्नलाई नेपाली नागरिक भन्नै नसकिने टिप्पणी गरेकी छन्।

पदभार ग्रहण कार्यक्रममा आइतबार सिंहदरबारमा बोल्दै प्रधानमन्त्री कार्कीले अपराधीको पहिचान र संलग्नता छानबिन गर्नुपर्ने आवश्यकता औंल्याइन्। “नेपाली नै भएर यस्तो काम गरेको हो भने तिनलाई नेपाली नागरिक कसरी भन्ने ?” उनले प्रश्न गरिन्।

उनले भदौ २४ गते देशका अत्यावश्यक सम्पत्ति नष्ट पारिएको स्मरण गर्दै यसलाई षड्यन्त्रको परिणाम हुनसक्ने बताइन्। “यो देशमा पहिलोपटक यस्तो भएको हो । मलाई लाग्छ, ‘प्लान वे’मा षड्यन्त्र भएको छ,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले पदभार ग्रहणसँगै मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय पनि सार्वजनिक गरिन्। उनले छ महिनाभित्र निर्वाचन सम्पन्न गरी नयाँ मन्त्रीपरिषद् गठन गर्ने प्रतिबद्धता जनाइन्। “सुरक्षा निकाय र प्रशासनको साथबिना यो सम्भव छैन,” उनले स्पष्ट पारिन्।

सिंहदरबार र अन्य महत्त्वपूर्ण सम्पत्ति आगजनीबाट नष्ट पारिएको भन्दै उनले यसलाई ठूलो चुनौतीको रूपमा लिइन्। “०७२ सालको भूकम्पले ध्वस्त पारेको सिंहदरबार रेट्रोफिट गरेर प्रयोगमै नगरी पुनः आगो लगाएर ध्वस्त पारिएको छ,” उनले भनिन्, “देशका महत्त्वपूर्ण सम्पत्ति मात्र होइन, निजी सम्पत्तिमा समेत आगजनी गरिएको छ । मानवअधिकार उल्लंघन भएको छ।”

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : ३९ बजे