Logo

मुख्य समाचार

सीसी क्यामेरा जडानले अपराधिक घटनामा कमी



बाजुरा । बाजुराको सदरमुकाम मार्तडी बजारमा सीसी क्यामेरा जडानपछि अपराधिक घटनामा कमी आएको छ । बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न बडीमालिका नगरपालिकाले दुई महिना अघि सीसी क्यामरा जडान गरेको थियो ।

सीसी क्यामरा जडान गर्नुपूर्व बजार क्षेत्रमा शान्ति सुरक्षामा असहज, चोरी डकैती जस्ता कार्य हुने ठाउँमा अहिले क्यामरा जडान पछि त्यस्ता घटनामा कमी आएको बडीमालिका नगरपालिकाका नगर प्रवक्ता धर्मराज पाध्यायले बताए ।

उनका अनुसार, बजार क्षेत्रमा शान्ति सुरक्षा अहिले निकै नियमन भएको छ । रातीको समयमा हुने अपराधिक घटना, हुलदङ्गा लगायतका नकारात्मक कार्यमा विस्तारै सुधार हुँदै गएको प्रवक्ता पाध्यायले बताए ।

नगरपालिकाको नीति कार्यक्रम अनुरुप बजार क्षेत्र भित्र हुने चोरी डकैती जस्ता कार्यलाई नियमन गर्ने उदेश्यका साथ जडान गरिएको सीसी क्यामराले अहिले यहाँको शान्ति,सुरक्षा अमनचयन तथा अपराधिक घटनामा निकै सुधार आएको नगर प्रमुख अमर खड्काले बताए ।

२०७९ को स्थानीय तहको निर्वाचनपछि खड्का नेतृत्वको सरकारले ल्याएको पहिलो निती तथा कार्यक्रम तीन वर्षपछि लागू भएको थियो।

बजारको लोकतान्त्रिक चोक, डिभिजन वन कार्यालय, डिआर मस्टलगायत जोखिम क्षेत्रमा १५ बढी सीसी क्यामेरा जडान गरिएका छन् ।

सिङ्गो बजारभित्रको अवस्था नगरपालिकामा जडान गरिएको टेलिभिजमा प्रस्ट देख्न सकिन्छ । अहिले केही स्थानमा जडान कार्य भए पनि अर्को आर्थिक बर्षमा अन्य स्थानमा जडानको कार्य थप गरिने नगरपालिकाले जनाएको छ ।

बजारमा शान्ति अमनचयन, अन्य नकारात्मक घटनाको न्यूनिकरण गर्न सिसि क्यामराले ठुलो सहयोग गर्ने अपेक्षा नगरपालिकाले लिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १ : ३४ बजे