Logo

Breaking News 1

आन्दोलनका क्रममा चोरी भएको दुई ट्रक सामान प्रहरी नियन्त्रणमा



हेटौंडा । भदौ महिनाको २४ गते हेटौंडामा भएको जेनजीको प्रदर्शनको क्रममा लुटपाट भएको सामग्री र संलग्नलाई पक्राउ गर्न मकवानपुर प्रहरीले सक्रियता देखाएको छ । शनिबार बिहान हेटौंडा–४ कर्राबाट ठूलो संख्यामा लुटपाट गरिएको सामान सहित केही व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीले हालै सार्वजनिक गरेको अपिलमा लुटपाटमा संलग्न व्यक्तिहरूलाई पहिचान गर्न र चोरी भएको सामान फिर्ता गर्न आग्रह गरेको थियो । त्यसै अनुरूप स्थानीयवासीको सहयोगमा वडा प्रहरी कार्यालय हेटौंडा र सानोपोखराले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको हेटौंडा–१० स्थित कार्यालयबाट चोरी भएका सामग्रीहरू बरामद गरेका छन् ।

बरामद गरिएको सामानमा दराज, टेबल, कुर्सी र कम्प्युटर समेत रहेका छन्। पुलिसको बयानअनुसार यी सामाग्रीहरू दुई ट्रकमा लोड गरेर लुकाइएका थिए। प्रहरीले उक्त घटनामा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले घटनामा संलग्न कुनै पनि व्यक्तिलाई नछोड्ने कडा चेतावनी दिएका छन् ।

यस घटनामा संलग्न व्यक्ति पहिचान गरिएसँगै तिनीहरूको कानून अनुसार कडा कारबाही गर्ने योजना रहेको प्रहरीले जनाएको छ । स्थानीय नागरिक निरज सिंह ठकुरीले लुटपाटमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी चोरी भएका सामान प्रहरीलाई बुझाएको जानकारी दिएका छन् ।

प्रहरीको कडा निगरानी र स्थानीय समुदायको सहयोगले लुटपाटमा संलग्न अपराधीहरूलाई छानबिन गरी न्याय दिलाउने प्रयास तीव्र रूपमा अघि बढाइएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १ : ०० बजे