काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले ऐतिहासिक जेन–जी आन्दोलनको सफलतासँगै भ्रष्टाचारीलाई कारबाही गर्न सुरु गर्नुपर्ने बताएका छन् । बस्नेतले नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै भ्रष्टाचारी विरुद्ध कारबाहीका लागि सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।
बस्नेतले भने, ‘सरकारको नेतृत्व नै भ्रष्टहरुले पालैपालो गरिरहने हुँदा भ्रष्टचारीहरु नै पुरस्कृत भइरहने अवस्थाबाट मुुलुकका जनता आजित थिए । हामीले भ्रष्टाचार विरुद्ध उठाएको आवाजलाई जेन–जीले विद्रोहमा बदलिदियो । यो भ्रष्टाचार विरुद्धको ऐतिहासिक सफलता हो । यस अभियानका हामी पनि साझेदार हौं ।’
भ्रष्टाचारको छानबिन र कारबाहीमा सररकाले कुनै सम्झौता गर्न नहुने भन्दै देशमा सुशासन चाहने सबै नेपालीले साथ र सहयोग गर्नुपर्ने बस्नेतको भनाइ छ । नेता, सरकारी पदाधिकारीलगायतले भ्रष्टाचार गरेर आर्जेको अकूत सम्पत्ति राष्ट्रियकरण गर्दै मुलुकको समृद्धिमा लगाउनुपर्ने उनको माग छ ।
दलहरु अब के गर्लान् भन्ने प्रश्नमा बस्नेतले राजनीतिक दलहरुले आफूलाई सुधारेनन् भने आफै सक्किने टिप्पणी गरे । बस्नेत भ्रष्टाचारका विरुद्ध कडा अभिव्यक्ति दिइराख्ने नेतामा पर्छन् । उनी भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाउने प्रयासमा देखिन्छन् ।
प्रतिक्रिया