धरान, सुनसरी । धरान उपमहानगरपालिका–९ पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटमा चारजनाको जलेको अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार, शव मंगलबार (भदौ २४) ‘जेनजी आन्दोलन’का क्रममा सुपरमार्केटभित्र पसेका आन्दोलनकारीका हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उनका अनुसार मृतकमध्ये तीनजनाको शव चौथो तलामा र एकजनाको दोस्रो तलामा भेटिएको हो।
“जलेको अवस्थामा भएकाले शवहरूको तत्काल पहिचान सम्भव छैन,” प्रवक्ता खतिवडाले भने, “अब डीएनए परीक्षणमार्फत मात्र पहिचान गरिनेछ।”
शवको मुचुल्का उठाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको प्रहरीले जनाएको छ।
गत मंगलबार बेलुकी करिब ७ बजे आन्दोलनकारी समूहले सुपरमार्केटको सटर फोडी पेट्रोल छर्केर आगजनी गरेका थिए। आगो शुक्रबार बिहान मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया