Logo

मुख्य समाचार

नोबेल समितिले ट्रम्पको पुरस्कार दाबीप्रति अडान प्रस्ट पारे


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कार पाउने दाबी गरे पनि नर्वेली नोबेल समितिले यसमा कुनै प्रभाव नपर्ने जनाएको छ। समितिका सचिव क्रिस्टियन बर्ग हार्पविकेनले उमेदवारको मूल्यांकन केवल उनीहरूको उपलब्धि र शान्तिमा योगदानको आधारमा हुने बताएका छन्।

हार्पविकेनले मिडिया रिपोर्ट वा सार्वजनिक अभियानले मूल्यांकन प्रक्रियामा असर नपर्ने स्पष्ट पारे। उनले भने, “हामीलाई हरेक वर्ष धेरै अभियान चलाइन्छ भन्ने थाहा छ। त्यसैले कुनै पनि अभियानबाट प्रभावित नहुने गरी प्रक्रिया र बैठकहरू व्यवस्थित गर्छौं।”

ट्रम्पले बारम्बार आफ्नो प्रशासनले ६ युद्ध समाप्त गरेको दाबी गर्दै आफूलाई नोबेल पुरस्कारको हकदार भएको बताएका छन्। उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभबाट पनि समर्थन पाएको दाबी गरेका छन्। तर, नोबेल पुरस्कारका लागि मनोनयनको समयसीमा जनवरी ३१ सम्म मात्र रहेकोले उनका धेरै समर्थन ढिला भएका थिए।

नोबेल समिति राजनीतिक प्रभावबाट स्वतन्त्र छ र सन् २०१० मा चिनियाँ विद्रोही लिउ सियाओबोलाई पुरस्कार दिँदै आफ्नो निष्पक्षता प्रमाणित गरिसकेको छ। हार्पविकेनले भने, “मनोनयन हुनु ठूलो उपलब्धि होइन, सबैभन्दा ठूलो उपलब्धि भनेको पुरस्कार पाउनु हो।”

सन् २०२५ को नोबेल शान्ति पुरस्कार अक्टोबर १० मा घोषणा गरिने छ। विशेषज्ञका अनुसार, ट्रम्पले पुरस्कार पाउने सम्भावना न्यून छ। नर्वेले बहुपक्षीयता र शान्तिमा योगदानलाई प्राथमिकता दिन्छ, जुन ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिसँग मेल खाँदैन।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : ५४ बजे